कीर्तिपुर मैदानमा नेदरल्यान्ड्सलाई त्रिदेशीय क्रिकेटको कीर्तिमानले भरिएको फाइनलमा १४२ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो।
युवा खेलाडीहरू कुशल भुर्तेल, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीको राम्रो ब्याटिङको मद्दतले नेपालले तीन विकेट गुमाएर कीर्तिमानी २३८ रन बनाएको थियो।
प्रतियोगिताको लीगका दुई खेलमध्ये एउटामा नेपाललाई हराएको नेदरल्यान्ड्सले १७.२ ओभरमा सबै १० विकेट गुमाएर ९६ रन मात्रै बनाउन सक्यो।
यो नेपालको रनको हिसाबले सबैभन्दा ठूलो जित हो। यसअघि सबैभन्दा ठूलो जित भुटानविरुद्ध १४१ रनको थियो।
नेदरल्यान्ड्सका लागि यो रनका हिसाबले सबैभन्दा ठूलो हार हो। यसअघि उसको सबैभन्दा ठूलो हार सन् २०१८ मा स्कटल्यान्डविरुद्ध ११५ रनको थियो।
कीर्तिमानको खेल
नेपालले सन् २०१४ को टी२० क्रिकेट विश्वकपसहित यसअघि सात प्रतियोगिता खेलेको भए पनि कुनै उपाधि जितेको थिएन।
यसअघि नेपालको पोल्टामा यूएई र सिङ्गापुरसँगको दुई टी२० शृङ्खला उपाधि मात्रै थिए।
पहिलो उपाधिका लागि युवा खेलाडीहरूले राम्रो प्रदर्शन गरेका थिए।
आफ्नो पाँचौँ खेल खेलिरहेका कुशल भुर्तेलले आफ्नो फर्म कायम राख्दै चौथो अर्धशतक बनाए भने कुशल मल्लले आफ्नो दशौँ खेलमा पहिलो अर्धशतक बनाए।
नेपालले २० ओभरमा तीन विकेट गुमाएर २३८ रन बनाएको थियो। यो प्रतियोगितामा नेपालले बनाएको लगातार तेस्रो दुई सयभन्दा बढी रन हो।
नेदरल्यान्ड्सविरुद्धको स्कोर नेपालको सर्वाधिक टी२० रन हो। यसअघिको कीर्तिमान भुटानविरुद्ध सोही मैदानमा सन् २०१९ को दक्षिण एशियाली खेलकुदमा बनाएको २३६ रन थियो।