नयाँ युगको शुभारम्भ’का रुपमा सरकारले ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा २ लाखभन्दा बढी श्रमिक सूचीकृत भएका छन् । योजना कार्यान्वयनमा आएको झण्डै दुई वर्षको अवधिमा सामाजिक सुरक्षा कोषमा शुक्रवारसम्म २ लाख १२ योगदानकर्ता सूचीकृत भएका हुन् । कोषका अनुसार हालसम्म १३ हजार ७६५ रोजगारदाता आबद्ध भएका छन् ।

वाग्मती प्रदेशबाट ८ हजार २०४ जना, प्रदेश नं १ बाट १ हजार ४३३ जना, लुम्बिनी प्रदेशबाट १ हजार २२० जना, गण्डकीबाट ६१८ जना, प्रदेश नं २ बाट ५६० जना, सुदूरपश्चिमबाट १६८ जना र कर्णाली प्रदेशबाट १४७ जना रोजगारदाता कोषमा सूचीकृत भएका छन् ।
कोषका प्रवक्ता विवेक पन्थी योजनामा आबद्ध हुने योगदानकर्ता र रोजगारताको सङ्ख्या विस्तारै बढ्दै गएको बताउँछन्। औपचारिक तथा अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन कोष लागि परेको उनको भनाइ छ ।
कोषले ल्याएका विभिन्न योजनाप्रति योगदानकर्ताको आकर्षण बढाउन केही योजनाको परिमार्जन गरिएको छ । नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोषजस्ता निकायले बचतकर्तालाई दिएका सुविधा सामाजिक सुरक्षा कोषले पनि कार्यान्वयनमा ल्याएको छ ।
यो समाचार आर्थिक अभियान दैनिकमा छ ।



