काठमाडौं: पूर्वराजा ज्ञानेन्द्र शाहले मंगलबार नयाँ वर्ष २०७८ सालको अवसरमा शुभकामना व्यक्त गरेका छन्। शुभकामनामा पूर्वराजा शाहले राजननीतिक नैतिकता, जनताप्रतिको उत्तरदायित्व, निष्ठा र इमान्दारिता सबैमा हुनुपर्ने भन्दै विदेशीसँगको प्रभावबाट मुक्त हुन सबैलाई आग्रह गरेका छन् ।

‘अनावश्यक प्रकृतिको दोहन, आर्थिक अपचलन एवं वैदेशिक प्रभाव र परनिर्भरता त्याग्दै जानुपर्ने आवश्यकता हो । टाठाबाठा मात्र शुखी सम्पन्न सुविधाभोगी हुँदै जाने र निमुखा सर्वसाधारणहरुको जीवनस्तर कहिल्यै नउठ्ने खालको गतिविधि र पद्धति पनि त्याग्नै पर्ने हुन्छ’, शुभकामना सन्देशमा उनले उल्लेख गरेका छन् ।
पूर्वराजा शाहले नेपालीहरुले फुटेर होइन जुटेर शक्ति संरक्षण गर्नुपर्ने बताउँदै एकतामा सफलता र देशको कल्याण हुने कुरा बताएका छन्।
“नेपाली हामी फुटेर होइन शक्तिकाे संरक्षण गरौं जुटेर । एकतामा हाम्रो सफलता छ, यसैमा देशको कल्याण छ । हाम्रा समस्या साझा छन्, एउटा बिग्रेको अर्कोले हेर्ने बेला छैन् । सबैको एउटै उदेश्य हुनुपर्दछ । एउटै कामना हुनुपर्छ ।”, उनले भनेका छन् ।
निषेध र चक्रब्यूहबाट बाहिर आउनुपर्ने भन्दै उनले मेची महाकाली बचाउने हाम्रै पालो भएको बताएका छन् ।
‘निषेध र चक्रब्यूहबाट बाहिर आउनैपर्छ । मेची महाकाली देश-बचाउने हाम्रो पाली । नेपाल हाम्रो पहिचान हो- सनातन हाम्रो संस्कार हो ’, उनले भनेका छन् । 

