काठमाडाैं- इजरायलमा सक्रिय कोरोना भाइरस संक्रमितको संख्या माहमारी शुरु भएपछि अहिलेसम्मकै सबैभन्दा न्यून अवस्थामा पुगेकाे छ। नयाँ तथ्याङ्कले फेब्रुअरीदेखि काेराेनाका सक्रिय संक्रमितको संख्यामा तीव्र गिरावटलाई देखाएको छ।

स्वास्थ्य मन्त्रालयले आइतबार दिएकाे पछिल्लो तथ्याङ्क अनुसार इजरायलमा सक्रिय संक्रमित विरामीको संख्यामा ११४ ले कमी आई कूल संक्रमितको संख्या तीन हजार ८९० कायम भएको छ। गत वर्षको जुन १६ पछि पहिलोपटक संक्रमितको संख्या न्यून देखिएको हो।
- इजराइलमा यसै बर्षको फेब्रुअरी ५ सम्म संक्रमण दर उच्च रहेको थियो। उक्त समयसम्म सक्रिय संक्रमितको संख्या ८४ हजार ७८४ रहेको थियो।
इजरायलमा गम्भीर अवस्थाका काेराेना संक्रमित बिरामीहरूको संख्या २६८ बाट घटेर २६३ मा पुगेको छ। यो संख्या सन् २०२० को जुलाई २१ पछि सबैभन्दा कम हो। इजरायलमा गम्भीर बिरामीको संख्यामा जनवरीको मध्यतिर उच्च विन्दुमा पुगेको भएपनि त्यसपछि यो संख्यामा निरन्तर ओरालो लागेको छ।
इजरायलमा कोरोना संक्रमितको कूल संख्या अहिलेसम्म आठ लाख ३५ हजार ८७१ पुगेकोे छ भने छ हजार २९४ संक्रमितको मृत्यु भएको छ।

