काठमाडौं: २० वर्षपछि भन्सार एजेन्टको लाइसेन्स वितरणका लागि विज्ञापन खुलेको छ । अर्थ मन्त्रालय भन्सार विभागले आज सार्वजनिक सूचना जारी गर्दै भन्सार एजेन्टको इजाजत लिन इच्छुक व्यक्तिका लागि अनलाइन दरखास्त आह्वान गरेको हाे ।

गोरखापत्रमा सार्वजनिक गरिएको सूचनामा भन्सार नियमावली, २०६४ को नियम ३७ को उपनियम (१) बमोजिम भन्सार एजेन्टको इजाजत लिन चाहने व्यक्तिले विभागको वेबसाइटमा गएर दरखास्त दिन सक्नेछन् ।
मान्यताप्राप्त शिक्षण संस्थाबाट स्नातक वा सो सरह उत्तीर्ण गरी कम्प्युटर सम्बन्धी कम्तिमा तीन महिनाको आधारभूत तालिम लिएको हुनुपर्ने सूचनामा उल्लेख छ । नेपाल सरकारलाई तिर्न बुझाउन पर्ने रकम बाँकी नभएको हुनुपर्ने छ । कुनै फौजदारी अभियोगमा अदालतबाट कसूरदार प्रमाणित नभएको हुनुपर्ने छ ।
परीक्षाको किसिम लिखित र अन्तर्वार्ता हुने सार्वजनिक सूचनामा उल्लेख गरिएको छ । परीक्षा केन्द्र काठमाडौं उपत्यकाभित्रमात्रै हुनेछ । दरखास्त दस्तुर तीनहजार रुपैयाँ तोकिएको छ ।
दरखास्त वैशाख ५ गतेसम्म दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर वैशाख १२ गतेसम्म दरखास्त बुझाउनुपर्नेछ । दरखास्त दस्तुर राष्ट्रिय वाणिज्य बैंकको जुनसुकै शाखाबाट बुझाउन सकिनेछ । भन्सार एजेन्ट लाइसेन्स परीक्षा २०५६ सालदेखि रोकिएको थियो ।
विभागले कार्यविधि र पाठ्यक्रम तयार पारिसकेको छ । उमेरहद २१ वर्ष पूरा भएको मात्रै उल्लेख गरिएको छ ।


