विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार नियोकोभ कोरोना भाइरसको बारेमा थप अध्ययन गर्नुपर्ने बताएको छ।

चीनका अन्वेषकहरूले दक्षिण अफ्रिकाको चमेरोमा नयाँ कोरोना भाइरस ‘नियोकोभ’ पत्ता लगाएका छन्। अहिले यो भाइरस जनावरमा मात्रै तीव्र गतिमा फैलिरहेको छ। एक अध्ययनमा अन्वेषकहरूले यो भाइरस भविष्यमा मानिसका लागि खतरनाक साबित हुन सक्ने बताएका छन्।
कोरोनाभाइरस विभिन्न भाइरसहरूको समूह हो जसले सामान्य रुघाखोकीदेखि गम्भीर स्वासप्रस्वासमा समस्याहरू निम्त्याउन सक्छ। विश्व स्वास्थ्य संगठनले यो भाइरस मानिसका लागि खतरनाक छ कि छैन भनेर जान्न थप अध्ययन आवश्यक रहेको बताएको छ।
डब्ल्यूएचओले भन्यो, ‘मानिसहरूमा लाग्ने संक्रामक रोगमध्ये ७५% भन्दा बढीको स्रोत जनावर हुन्। विशेष गरी वन्यजन्तु यसको ठूलो स्रोत हुन्। कोरोना भाइरस प्रायः जनावरहरूमा पाइन्छ। यसमा धेरै भाइरसहरूको प्राकृतिक भण्डार भएको चमेरो पनि समावेश छ।’
विश्व स्वास्थ्य संगठनले यो जानकारी साझा गरेकोमा चिनियाँ अनुसन्धानकर्तालाई धन्यवाद पनि दिएको छ।

