लेखक : राजेन्द्र बोहरा
“मेरो साना दुुुुषले आर्ज्याको मुलुक होइन,सबै जातको फुलबारी हो,आफ्ना कुला धर्म नछोड्नु,प्रजा मोटा भया दर्बार बलियो रहन्छ , राजाका भँडार भन्याका रैतानहरू हुन् , अन्याय मुलुकमा हुन नदिनु ,निञानिसाप बिगार्न्या घुस दिन्या र घुस षान्या हुन् ।”

यी उद्गारहरू राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको दिव्य उपदेशका आंशिक वाणीहरू हुन् । यी अभिव्यक्तिमा नेपालको एकीकरण उनको पराक्रमले मात्र सम्भव थिएन, सबै नेपालीको विशिष्ट प्रयत्नले मुलुक समेटिएको हो , नेपाल विभिन्न जातजातिको दिव्य मिलनबाट बनेको सुन्दर बगैँचा हो,अनेक जातजाति र तिनका धर्मले सजिएको नेपालमा सबैले आ-आफ्नो धर्म-परम्पराको संरक्षण र संवर्धन गर्नुपर्दछ , जनताको समृद्धिले मात्र राजा सबल र सफल रहन्छन् ,अन्याय कसैले नगर्नू र हुन पनि नदिनू , न्याय-निसाफमा गडबडी ल्याउने तत्व भनेका घूस दिने र लिने हुन् जस्ता सार पाउन सकिन्छ।

तर आज पृथ्वीनारायण शाहका योगदानहरूलाई अनर्गल तर्कको तुवाँलोले ढाक्नेहरूको भीड बढेको छ , त्यस भीडले दिव्य उपदेशका भावहरूलाई पनि ढाक्ने प्रयत्न गरिरहेको छ , पृथ्वीनारायणको खास परिचयमाथि कपोलकल्पित परिभाषाको लेप लगाउने सिलसिला चलिरहेको छ ।

नेपालमा गणतान्त्रिक युग सुरु भएसँगसँगै केही राजनीतिक दलका नेता र जातीय नेताहरू पृथ्वीनारायण शाहलाई प्रतिनायकका रूपमा चित्रण गर्नमा औधी सक्रिय देखिए । उनीहरूले साँधेका तर्कउपर कान थाप्यो भने आज पनि यस्ता वाक्यहरू सुनिने गर्छन् -पृथ्वीनारायण शाहले नेपाल राष्ट्रको एकीकरण गर्न भनेर अरू राज्यमा आक्रमण सुरु गरेको थिएन, ठूलो देशको शक्तिशाली राजा हुन अभियान अगाडि बढाएको थियो, कीर्तिपुर विजय गरेपछि त्यहाँका जनताका नाक–कान काट्ने क्रुर शासक थियो, उसले जातजातिका राज्य खोस्यो ,जातीय पहिचान ओझेलमा पारिदियो…….।

यस्ता अनेकन् अफबाह फैलाएर इतिहासका विराट पात्र पृथ्वीनारायण शाहको छविउपर हमला गर्ने क्रममा पुस २७ गते मनाइँदै आएको ‘राष्ट्रिय एकता दिवस ’ विवादको दिवस बनेको छ । यसलाई पृथ्वीनारायणसँग वैरभाव राख्नेहरू महत्वपूर्ण सफलता ठान्ने गर्दछन् ।

पृथ्वीनारायण शाह प्राय: आफू पनि युद्धमा सरिक हुने गर्दथे । दोस्रो पटक कीर्तिपुरमाथि आक्रमण गर्दा त झन्डै उनको ज्यानै गएको थियो । जुन राजा स्वयम् युद्धमा सम्मिलित हुन्छ , त्यो राजा ठूलो देशको राजा हुने उच्चाकाङ्क्षा राख्दथ्यो भन्नु तर्कसङ्गत छ ? युद्धमा जाँदा मर्न सकिन्छ , मरियो भने ठूलो मुलुकको राजा हुन पाइँदैन भन्ने मनोदशा उनमा किन उत्पन्न भएन ?

चन्द्रागिरिको डाँडाबाट काठमाडौँ उपत्यकातर्फ नियाल्दा पृथ्वीनारायण शाहले “इ तिन सहरको राजा हुन पाया त हुँदो हो ” भनी व्यक्त गरेको विचार नै उनका कार्यलाई एकीकरण होइन भन्नेहरूको मूल आधार बन्ने गरेको छ । के मुलुकका लागि जीवन उत्सर्ग गरेर हिँडेका व्यक्तिले स्वयम्का विषयमा स्वाभाविक चाह राख्यो भने उसले गरेका सम्पूर्ण कर्म दूषित हुन्छन् ? यदि हुन्छन् भने कला ,साहित्य, राजनीति, विज्ञान, धर्म आदिका क्षेत्रमा असल कर्मले महान् बनेका मानिसहरू संसारमा जति पनि छन् , तिनका वैशिष्ठ्य सबै मिथ्या हुन्, कर्महरू पूरै दुर्गन्ध हुन् ।

चाहिँदो स्वार्थ असल-महान् व्यक्तिहरूमा पनि हुने कुरा हो । यो भ्रष्टहरूको अनुचित स्वार्थसँग मेल हुने कुरा होइन । कुनै पनि पात्रको विषयमा टीका-टिप्पणी गर्दा गुण-दोष केलाउन सक्ने तागत सञ्चय गर्नुपर्ने हुन्छ नत्र सम्पूर्ण अभिव्यक्ति असन्तुलित बन्न पुग्छ । समयको आवश्यकतालाई बुझी राष्ट्र निर्माण गर्ने अठोट गर्दा पृथ्वीनारायणले राजपदको आकारका विषयमा कल्पना गरेकै कुरालाई दोषको पहाड बनाउनु असन्तुलित विचारकै उद्वेलन हो ।

सन् १७६६ मा कीर्तिपुर विजय गरेपछि त्यहाँका जनताका नाक-कान काट्न लगाइएको थियो भनी विभिन्न ब्रिटिस लेखकहरूले उल्लेख गरेका छन् । तर बाबुराम आचार्य, सूर्यविक्रम ज्ञवाली लगायतका इतिहासकारहरूले यो भनाइको खण्डन गरेका छन् ; पृथ्वीनारायण शाहले इसाई धर्मावलम्बीहरूलाई यहाँबाट लखेटेका कारण उनको बदनाम गर्न ब्रिटिसहरूले घटनालाई अतिरञ्जित गरेको भन्ने उनीहरूको तर्क छ ।

नेपालमा इसाईहरू आफ्नो धर्मको प्रभाव बढाउँदै हिन्दू ,बोन,बौद्ध,किराँत जस्ता सनातनी धर्मको अस्तित्व सङ्कटमा पार्ने दुष्कर्मतर्फ उद्यत भएका कारण पृथ्वीनारायण शाहले ६२ जना इसाईहरूलाई नेपालबाट निकाला गरेका थिए । ती ६२ मध्येमा पादरीद्वय माइकल एन्जेलो र जिस्सेपी पनि थिए । निकाला भएपश्चात् जिस्सेपीले एन्जेलोको सहयोगमा कीर्तिपुर घटनाबारे लेखेका थिए । त्यही विवरणका आधारमा करिब पच्चीस वर्षपछि कर्कपेट्रिकले पनि लेखे । पछि विभिन्न पुस्ताका ब्रिटिस लेखकहरू हेमिल्टन,ओल्डफिल्ड,
डेनियल राइट, एडेन भेन्सिटार्ट,ल्यान्डन आदि पनि कीर्तिपुर युद्धलाई विषय बनाई विभिन्न प्रयत्नले कलम चलाउनमा व्यस्त रहे । यी ब्रिटिस लेखकहरूबाट वर्णन-विवरण पुस्तैपिच्छे थपिदैँ जाँदा कीर्तिपुर युद्धमा काटिएका नाकको तौल र पीडितको सङ्ख्या प्रकाशमा ल्याउने काम करिब सय वर्षपछि डेनियल राइटले गरेका थिए । यिनीहरूको तथ्यलाई एक थरी इतिहासकारहरू सत्य ठान्दछन् ।

ब्रिटिसहरूले पूर्वाग्रह राखी लेखे या सही तथ्य दिन खोजे , यस विषयमा किटान गरी भन्न सकिने अवस्था छैन । किनकि इतिहासकारहरू नै दुई कित्तामा विभक्त छन् । यदि नाक-कान घटना घटेको थियो भने त्यो कदापि उचित हुन सक्दैन, प्रत्यक्षत: बेठीक हो । तर बेठीकै भए पनि यसैको आधारमा पूरै एकीकरण अभियानलाई नीचो देखाउन खोज्नु ठीक होइन । किनकि संसारमा कुनै पनि त्यस्ता युद्ध भएका छैनन् ,जुन पूर्णत: विधि तथा नैतिकनियमसँग बाँधिएर चलेका हुन् । अर्को कुरा त्यस्ता घटनालाई तत्कालीन परिवेशसँग पनि जोडेर हेर्न सक्नु पर्दछ । आज उपस्थित मूल्यमान्यतासित गाँसेर हेर्ने होइन।

विश्वका कुरा छोडौँ , नेपालकै इतिहास खोतल्ने हो भने पृथ्वीनारायणभन्दा अघि कयौँ यस्ता कहाली लाग्दा घटना-काण्डहरू घटेका भेटिन्छन् , जो क्रूरताका पराकाष्ठाले भरिभराउ छन् ।पछाडिको कुरा गर्दा त टाढा जानै पर्दैन । वर्तमान गणतान्त्रिक व्यवस्थामा चलखेल गरिरहेका राजनीतिक दलहरूले आफ्ना सङ्घर्षका दिनहरूमा अङ्गीकार गरेका हिंसाका मार्ग नै काफी छन् । ती पथहरू कुनै पुराना युगका थिएनन् , विश्वमा मानव र उसका सामाजिक ,आर्थिक ,नागरिकहक र स्वतन्त्रताको रक्षाका सम्बन्धमा अनगिन्ती अवधारणाहरू विकास भइसकेको आजको उन्नत युगकै थिए । तर समयअनुसार सभ्य बन्न नसक्ने यी दलका नेताजीहरू नै आजका राजनीतिक सिद्धान्तका चस्मा लगाएर अढाई–तीन शताब्दी अगाडिका ऐतिहासिक पात्रलाई अवलोकन गर्ने कार्य गरिरहेका छन् । यो कृत्य सीमारहीत धृष्टता नै हो ।

नेपालका जातजाति, भाषा, धर्म, संस्कृति आदिका सन्दर्भमा पृथ्वीनारायण शाहको धारणा फराकिला थियो भन्ने कुरा नेपाल सबै जातको फूलबारी हो , कसैले आफ्नो कुलधर्म नछोड्नू जस्ता उनका अभिव्यक्तिबाट स्पष्ट स्पमा बुझ्न सकिन्छ । वचनमा मात्र होइन, शासन-व्यवहारमा पनि उनी उदार देखिएका उदाहरणहरू प्रशस्त छन् । उनले गोर्खा राज्यलाई नेपाल अधिराज्यमा परिणत गरेपछि दशैँको घटस्थापनाका दिनदेखि गोरखकालीमा पूजापाठ गरिएका फूलपाती बाजागाजाका साथ मगर जातिका पुजारीबाट सप्तमीका दिन काठमाडौं हनुमानढोकामा भित्र्याउने परम्परा चलाएका थिए । वि . सं. १८२५ मा काठमाडौं विजय गरेपछि नेवारी परम्परालाई उच्च सम्मान गर्दै शाक्यवंशकी जीवित देवी कुमारीको हातबाट टीका ग्रहण गरी पाउमा ढोगेर मात्र हनुमानढोका राजसिंहासनमा आरोहण गरेका थिए । एकीकरणलाई अगाडि बढाउँदा आवश्यक पर्ने रकम जुटाउन बिसे नगर्चीले दिएको सल्लाहलाई उनले महत्वका साथ ग्रहण गरेको इतिहासै छ । आजसम्म जातपातका आधारमा मान्छेलाई उँचो-निचो ठान्ने तुच्छ मानसिकता नेपाली समाजबाट हट्न सकेको छैन । त्यतिखेरको सामाजिक परिवेशमा शुद्र जातिको सल्लाह आत्मसात् गर्न राजाको उचाइ महसुस नगर्नु चानचुने कुरा होइन । तर नेपाली जाति, धर्म ,परम्पराप्रतिको समान मोहभाव पृथ्वीनारायणमा भएका प्रसस्त उदाहरणहरू हुँदाहुँदै पनि नेपाललाई हिन्दू अधिराज्य स्थापना गरेको र खस भाषालाई साझा भाषाको मान्यता दिएको कुरा गर्दै केही जातीय नेताहरू कुर्लने गरेका छन् । उनीहरूले के कुरा बुझ्न जरुरी छ भने नेपालका पहिचानहरूलाई न्याय दिने क्रममा जनसङ्ख्याको आधारमा हिन्दू धर्म र खस भाषाले प्राप्त गरेको प्राथमिकता एउटा न्यायपूर्ण कदमकै उपस्थिति थियो ।

देश , काल , परिस्थितिअनुसार पृथ्वीनारायणले जातजातिका विषयमा जे-जति बोले-गरे,त्यो धेरै थियो ,अनुकरणीय थियो । तर उनी हिँडेको बाटोमा पछिल्ला पिंढीका राजा-राणादेखि ०४६ पछि सरकारको नेतृत्व गरेका दलहरूसम्म कोही हिँड्न सकेनन् । समग्र जातजाति र तिनीहरूका पहिचान ओझेलमा पर्नुमा पृथ्वीनारायणभन्दा पछाडिका शासकहरूकै निष्क्रियता र अकर्मण्यता प्रमुख कारण रहेको छ ।

हिमवतखण्डको रक्षाका लागि चलाएको एकीकरण अभियानलाई पृथ्वीनारायण शाहको जातसँग जोडेर मूल्याङ्कन गर्नु हुँदैन ।उनले कुनै जातिविशेषको राज्यलाई मात्र लक्षित गरी आक्रमण गरेका थिएनन् । खस-ठकुरीलगायत आफ्नै सगोत्री दाजुभाइका राज्यहरू पनि उनको निशानामा परेका थिए ।

मुलुकका लागि महान् कार्य गर्ने व्यक्तिलाई उसको जात,धर्म,लिङ्ग,वर्ग,दर्जा,राजनीतिक सिद्धान्त आदिका आधारमा तौलने क्रियाको ‘गर्भ’ सङ्कीर्ण सोच नै हो भन्दा अतिशयोक्ति हुनेछैन। साँघुरो सोच आजको शताब्दीसँग मेल खाने कुरा होइन । हाल मुलुकभित्र फराकिलो सोच र दृष्टिकोणको अभाव हुँदै जाँदा विद्यमान गणतन्त्र नै अभिशाप प्रतीत गराउने कर्म उत्कर्षमा पुगेको देखिन्छ । सच्चिन जरुरी छ , सच्चिअैाँ , थालनी इतिहासलाई हेर्ने दृष्टिमा सुधारै गर्दा उचित होला।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *