काठमाडौ : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेपालमा कूटनीतिक क्षमता नभएका व्यक्तिहरू राजदूत हुने गरेको बताएका छन्। संयुक्त राष्ट्र संघको स्थापना दिवसको अवसरमा आयोजित एक कार्यक्रममा उनले सो कुरा बताएका हुन्।

उनले भने, ‘मैले यस्तो राजदूत देखेको छु, जसलाई अंग्रेजीको ‘अ’ आउँदैन। कूटनीतिको ‘क’ आउँदैन। मेरो देश नेपाल हो। यो नेपालको हितमा हुनुपर्छ भनेर बोल्न सक्दैन। ऊ नै राजदुत बनेर जाने गरेको छ।’
कार्यक्रममा बोल्दै उपाध्यक्ष रावलले देशको पहिचानलाई विश्वसामू पुर्याउन नेपालले कूटनीतिक क्षेत्रलाई सबल बनाउनुपर्ने कुरामाथि जोड दिए। उनले विश्व शान्तिका लागि परिचालन हुने सुरक्षाकर्मीहरुको सेवा र सुरक्षाको उचित व्यवस्थाका लागि संयुक्त राष्ट्र संघसँग पहल गर्न सरकारलाई सुझाव पनि दिए।

