काठमाडौँ — १४ औँ महाधिवेशनअन्तर्गत मंगलबार कांग्रेसले काठमाडौंसहितका सात जिल्लामा वडा अधिवेशन गर्दैछ । वडा अधिवेशनका मतदाता अर्थात् क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंगो नलाग्दा यसअघि यी जिल्लाको अधिवेशन हुन सकेको थिएन । अझै १३ जिल्लामा क्रियाशील सदस्यको नामावली तयार भइसकेको छैन ।

केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले मंगलबार काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक, कपिलबस्तु, बर्दिया, बाजुरा र मोरङमा वडा तहको अधिवेशनको हुने जानकारी दिए । ‘सबै वडामा मतदान अधिकृतहरु पुगिसकेका छन् ।
क्रियाशील सदस्यको नामावली तयार नभएका बाँकी जिल्लामा पनि क्रमशः अधिवेशन हुने केन्द्रीय सदस्य श्याम घिमिरेले जानकारी दिए । ‘विवादको समाधान भइसकेको छ । अब अन्तिम नामावली तयार गर्ने काममात्रै बाँकी हो,’ उनले भने, ‘अब हामीले सार्वजनिक गरिसकेको कार्यतालिकामा असर नपर्ने गरी अधिवेशनको प्रक्रिया अघि बढ्छ ।’ कांग्रेसले पालिका तहको अधिवेशन ९ असोजका लागि तोकेको छ । कांग्रेसले प्रदेश २ का आठ वटै जिल्ला र रसुवा, डोल्पा, बाँके, कैलाली र सुर्खेतको नामावली तयार गर्न सकेको छैन ।स्रोत: कान्तिपुर ।

