काठमाडौं :  नेकपा एमालेको माधव नेपाल समूहले आफूहरू तत्काल देउवा सरकारमा सहभागी नहुने र पार्टी एकतामा नै पहल गर्ने निर्णय गरेको छ । सोमबार बसेको नेपाल समूहको स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको हो।

साथै, बैठकमा पार्टी एकता प्रक्रिया अघि बढिरहेको अवस्थामा अध्यक्ष ओलीबाट अवरोध सिर्जना गर्ने खालका कामहरु भएको भन्ने विषय पनि उठेको थियो।

एकता प्रक्रिया चलिरहेका बेला केही दिनअघि काठमाडौ जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले वरिष्ठ नेता माधव नेपालतिर लक्षित गर्दै कडा शब्द प्रहार गरेका थिए। साथै,सोमबार ओली समूहको स्थायी समितिको बैठकले ९ वटा विभाग गठन गरेर त्यसको जिम्मेवारी पनि तोकेको छ ।

यी विषयमाथि बैठकमा गम्भीर छलफल भएको र कसैबाट पार्टी एकतामा अवरोध खडा गर्ने किसिमका कार्य नगर्न माग गरिएको कुरा नेता युवराज ज्ञवालीले जानकारी दिए।

नेता ज्ञवालीले भने, ‘यस्ता गतिविधि रोकिनुपर्छ ।अब हामी एमालेलाई रुपान्तरण गर्ने हो, हामी एकताका लागि सम्पूर्ण ध्यान केन्द्रीत गरिरहेका छौं।आआफ्नोतर्फबाट एमाले एकता जोगाउन अझै प्रयास गर्ने र  एकता विरोधी  अभिव्यक्ति कसैले र कुुनै पक्षले पनि दिन नहुने हाम्रो निष्कर्ष छ’, नेता ज्ञवालीले भने ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *