काठमाडौँ : महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर दार्चुलाका जयसिंह धामी वेपत्ता भएको घटनाको छानविनका लागि गृह मन्त्रालयले समिति गठन गरेको छ । आइतबार गृहमन्त्री बालकृष्ण खाणले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेका हुन् ।

गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम संयोजक रहेको सो समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कंडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशन हुतराज थापा, सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुरेश कुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक जिल्ला अधिकारी ज्योत्स्ना भट्ट सदस्य रहेका छन् ।
यस समितिले उक्त घटनाको छानबिन गरी १० दिनभित्र सत्यतथ्य प्रतिवेदन पेस गर्नुपर्ने छ । स्थानीयहरुले भारतीय सीमा सुरक्षा बलको लापरवाहीका कारण जयसिंह धामी महाकालीमा खसेर वेपत्ता भएको आरोप लगाउँदै आएका छन् । भारतीय प्रशासनले भने पत्र पठाएर यस घटनामा भारतीय पक्षको कुनै संलग्नता नरहेको बताएको छ ।

