काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद्लाई पूर्णता दिन अहिले आन्तरिक दौडधूपमा लागेका छन् ।

उनी सत्तारुढ गठबन्धनका नेताहरूसँग निरन्तर भेटवार्ता गरिरहेका छन् । यस क्रममा आज नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न प्रचण्ड नेपाल निवास कोटेश्वर पुगे। नेता द्वयका बीचमा आज सत्ता सहकार्यबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको थियो । सो अवसरमा केही दिनभित्रै सत्तासाझेदार दलबीच छलफल गरी मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा सहमति भएको जनाइएको छ।
सरकारमा सहभागिताबारे माधव समूहले निर्णय लिन नसक्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।

