काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा सहभागी हुन अझै केही दिन लाग्ने बताएको छ । ललितपुरस्थित तुलसीलाल स्मृति भवनमा बुधबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सैद्धान्तिक छलफल सुरु गर्दै सरकारमा सहभागी हुन अझै केही दिन लाग्ने निष्कर्ष निकालेको हो ।

बैठकपछि पार्टी प्रचार विभाग प्रमुख डम्बर खतिवडाले सरकारमा सहभागी हुन अझै केही दिन लाग्ने निष्कर्षमा पार्टी पुगेको बताए ।
‘सरकारमा कहिले सामेल हुने ? कसरी सामेल हुने ? के–कस्ता विषयहरुलाई ध्यान दिने ? लगायतका विषयमा बैठकमा सैद्धान्तिक छलफल गरेका छौं । सरकारमा सामेल हुनेबारे सकारात्मक दृष्टिकोणहरु आएका छन् । तर यसबारे अन्तिम निर्णय लिन केही दिन लाग्ने देखिन्छ’ खतिवडाले भने ।
कार्यकारिणी समितिको बिहीबार पुनः बस्ने बैठकमा सरकारमा सहभागी हुने विषयमा विस्तृत छलफल हुने प्रचार विभाग प्रमुख खतिवडाले बताए ।
सरकारमा पठाउने मन्त्री छान्नको लागि अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र बरिष्ठ नेता अशोक राईलाई जिम्मा दिइएको छ ।

