राजेन्द्र बोहरा
काठमाडौं : नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीका युवा पुस्तालाई बाँदर बनाएर सडकमा उतार्नुलाई गलत संस्कारको विकास भनेकी छन् ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवसका सन्दर्भमा ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै नेत्री शाक्यले सो कुरा बताएकी हुन्।
“कस्तो संस्कार हामीले हुर्कायौं । कम्युनिस्ट पार्टीको निर्णय र नेतृत्वबाट प्रभावित भई पार्टीमा आएका युवाहरु देशका लागि केही गर्न चाहन्थे । अध्ययनशील तथा सिर्जनशील थिए । तर बाँदरको रूपमा सडकमा उतार्ने काम किन भयो ? ” उनले प्रश्न गरिन्।
युवा पुस्तालाई बाँदर बनाएर सडकमा उतार्ने कार्य नेतृत्वको गलत सोच तथा संस्कारको उपज भएको बताउँदै उनले दल तथा मुलुकको नेतृत्व लिनका निम्ति उचित भूमिका खेल्न सक्ने संस्कारको विकास गर्नु आवश्यक रहेको बताइन् ।
गत असार २८ गते सर्वोच्चको निर्णयउपर विभिन्न शैलीमा विरोध गर्ने क्रममा केही दिनअघि युवा संघले बाँदरको मुखुुण्डो लगाएर सकडमा जुलुस निकालेको सन्दर्भबाट उद्विग्न भई नेत्री शाक्यले उक्त विचार राखेकी हुन्।
सत्ताको अहङ्कार बढ्दा कम्युनिष्ट आन्दोलन गर्ल्यामगुर्लुम तल झरेको धारणा पनि शाक्यले व्यक्त गरिन्। उनले भनिन्, ‘एउटा नेतामा अहङ्कार बढ्दा सगरमाथाको चुचुरोमा पुगेको कम्युनिष्ट आन्दोलन आज गर्ल्यामगुर्लुम एकैचोटि तल झरेको छ। कम्युनिष्ट आन्दोलन धराशायी किन हुन पुग्यो ? यसको गम्भीर समीक्षा हुनुपर्दछ ।’
कम्युनिष्ट आन्दोलनभित्र बेलाबखत देखा पर्ने व्यक्तिवादी, गुटवादी र अवसरवादी सोचाइका कारण कम्युनिष्ट पार्टी अफ्ट्यारामा पर्ने गरेको, उनको भनाइ थियो ।

