काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा देखिएको विवाद समाधानका लागि वरिष्ठ नेता माधव कुमार नेपाललाई दोस्रो अध्यक्ष दिन तयार रहेको बताएका छन् ।

एमालेको केन्द्रीय समितिको १० औं बैठकको तेस्रो दिनको बैठक समापनको क्रममा मन्तव्य दिँदै ओलीले यस्तो बताएका हुन् ।
‘माधवकुमार नेपाल पार्टीमा आउने भए दोस्रो अध्यक्ष दिन्छु, त्यसका निम्ति केन्द्रीय कमिटीलाई सम्झाउँलासम्म भनेको थिएँ ‘ ओलीले भने, ‘तर उहाँले बहुमत नभएको कमिटीको निर्णय कहाँ मान्छु भनेको समेत साथीहरूले सुनाउनुभयो ।’
ओलीले सम्बोधनको क्रममा पार्टी एकतालाई जोगाउन हदैसम्मको लचकता अपनाउने बताएका छन्।
माधव नेपाल पार्टी कब्जा गर्नका लागि बहुमत खोजेर बसेकाले पार्टी एकतामा समस्या भइरहेको पनि ओलीले जनाएका छन् ।
उता माधव नेपाल समूहको स्थायी समितिको बैठकले सम्मानजनक एकताका लागि पहल गर्ने निर्णय गरेको छ ।त्यसका लागि पार्टी अध्यक्षसँग थप छलफल गर्न यसअघि बनाइएको कार्यदलका सदस्यहरुलाई जिम्मेवारी दिइएको छ।

