tax

हेटौँडा, साउन १ गते । बागमती प्रदेशभित्रका यातायात कार्यालयबाट सेवा लिँदै आएका सेवाग्राहीले यातायात क्षेत्रको सेवा र राजस्वको भुक्तानी अब विद्युतीय माध्यमबाट गर्नसक्ने भएका छन् ।
यातायात सूचना प्रणाली लागू भएपछि बागमती प्रदेश सरकारको यातायात क्षेत्रको राजस्व अनलाइन प्रणालीमार्फत दाखिला गर्नसक्ने गरी व्यवस्था गरेसँगै राजस्व तिर्न वा सवारी साधनसम्बन्धी वितरण हेर्न सकिने भएको हो । नयाँ आर्थिक वर्ष २०७८÷७९ अर्थात् साउन १ गते शुक्रबारबाट आफ्नो सवारीसम्बन्धी विवरण प्रविष्ट र अद्यावधिक गर्न सकिने भएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता नवीनकुमार सिंहले विद्युतीय माध्यमबाट सेवा प्रवाह सुरु भएसँगै सेवाग्राहीले घरमै बसेर आफ्नो सवारीसम्बन्धी विवरण हेर्न, अद्याधिक गर्न, प्रदेश सरकारलाई तिर्नु वा बुझाउनुपर्ने राजस्वका बारेमा जानकारी लिन र राजस्व भुक्तानी गर्न सुविधा पुग्ने बताउनुभयो । उहाँले यातायात सूचना प्रणाली परीक्षणका क्रममा रहेकाले अहिले सवारीसम्बन्धी विवरण हेर्न, अद्याधिक गर्न, प्रदेश सरकारलाई तिर्नु वा बुझाउनुपर्ने राजस्वका बारेमा जानकारी लिन सकिने जानकारी दिँदै एक सातापछि राजस्व भुक्तानी गर्नसमेत सकिने बताउनुभयो ।
बागमती प्रदेश सरकारले बनाएको विद्युतीय माध्यमबाट यातायात क्षेत्रको सेवा प्रवाह तथा राजस्व भुक्तानी नियमावली २०७८ जारी गरी सवारीचालक अनुमतिपत्रबाहेकका सेवा अनलाइन प्रणालीमा आबद्ध गरी विद्युतीय माध्यमबाट राजस्व भुक्तानी गर्ने व्यवस्था गरेको थियो ।
साथै अनलाइनमार्फत राजस्व भुक्तानीपछि कार्यालयमा गई सेवा लिनपर्ने सेवाग्राहीले शुक्रबारबाट मन्त्रालयको भेटघाट व्यवस्थापन प्रणालीको वेब पोर्टलमार्फत ई–टोकन प्राप्त गरी तोकिएको समयमा तोकिएको सेवा लिनसक्ने जनाइएको छ । यस्तै नियमावलीमा विद्युतीय सूचना प्रणालीमा सेवाग्राहीले सवारीको विवरण प्रविष्ट गर्न तथा मन्त्रालय वा कार्यालयले सेवाग्राहीबाट सवारीको विवरण माग गर्न वा प्रविष्ट गर्नसक्ने व्यवस्था गरिएको छ।
सेवाग्राही आफैँले सूचना प्रणालीमा आफ्नो सवारी साधन तथा अनुमति पत्रको दर्ता, नवीकरण, जरिवाना उल्लङ्घन तथा राजस्व बाँकी बक्यौताको अवस्थाको विवरण हेर्न मिल्नेगरी ‘नागरिक एप’ तथा सम्बन्धित भुक्तानी सेवा प्रदायकको मोवाइल एप्स तथा वेब पोर्टलमार्फत जानकारी दिन सकिने व्यवस्था गरिएको छ ।
यातायात व्यवस्था सेवा कार्यालय हेटौँडाका सूचना अधिकारी राजु अर्यालले मोबाइल बैङ्किङ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भुक्तानी कार्ड (डेबिट तथा क्रेडिट कार्ड), ई–मनी (वालेट्स) र अन्तरबैङ्कबाट विद्युतीय भुक्तानी गर्न सकिने जानकारी दिनुभयो । अर्यालले नयाँ अनुमति लिने वा स्मार्ट चालक अनुमतिपत्र नलिएकाहरू एक पटक बायोमेट्रिक गर्न आउनुपर्ने जानकारी दिनुभयो।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *