काठमाडौं : सर्वोच्च अदालतबाट असार २८ गते भएको अन्तरिम आदेशपश्चात् प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरूद्ध पूर्वप्रधानमन्त्री केपी ओली र उनका कार्यकर्ताबाट भइरहेका क्रियाकलापप्रति सर्वोच्च अदालत बार एशोसिएशनले आपत्ति जनाएको छ।

प्रतिनिधि सभा विघटनसम्बन्धि फैसलाका विषयमा भएका टिकाटिप्पणीले स्वतन्त्र न्यायपालिकामाथि गम्भीर आँच पुगेको सर्वोच्च बारको ठहर छ । सर्वोच्च बारका सचिव ऋषिराम घिमिरेले बिहीबार एक विज्ञप्ति जारी गर्दै यस्तो जनाएका हुन् ।
प्रधानन्यायाधीशको पुत्ला दहन गर्ने, पदीय मर्यादामाथि गम्भीर आक्षेप लगाई गालीगलौज गर्ने, भ्रम सिर्जना गर्ने, अफवाह फैलाउने जस्ता क्रियाकलापप्रति सर्वोच्च अदालत बार एशोसिएशनको गम्भीर ध्यानाकर्षण भएको बिहीबार जारी गरिएको विज्ञप्तिमा उल्लेख छ।
पूर्व प्रधानमन्त्री केपी शर्मा ओली तथा उहाँका कार्यकर्ताद्वारा अदालतको आदेशका विरुद्ध भ्रम तथा अफवाह फैलाउने उद्देश्यले अभिव्यक्त गरिएका “जहानियाँ राणा शासन शैली, प्रधानमन्त्री तोक्ने विश्वमा नभएको जात्रा, संविधान र जनतामाथि अतिक्रमण, अदालतद्वारा च्यातिएको/भत्किएको संविधान लिकमा नआएसम्म आन्दोलन कायम रहने” लगायतका अन्य अति अशोभनीय आक्रामक शैलीप्रति यो बार क्षोभ प्रकट गर्दछ, विज्ञप्तिमा भनिएको छ।

