काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा पाँच सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलबार प्रधानमन्त्री देउवाको सिफारिसमा चार जना मन्त्री नियुक्त गरेकी हुन्।
बालकृष्ण खाँणले गृह, ज्ञानेन्द्रबहादुर कार्कीले कानून, न्याय तथा संसदीय मामिला, पम्फा भुसालले ऊर्जा, जलस्रोत तथा सिँचाइ र जनार्दन शर्माले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन्।
खाँण र कार्की नेपाली कांग्रेसबाट सरकारमा सहभागी भएका हुन् भने भुसाल र शर्मा नेकपा (माओवादी केन्द्र)बाट सहभागी भएका छन्।
मङ्गलबार साँझ राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीबाट प्रधानमन्त्रीलगायत चार मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरे। समारोहमा संवैधानिक निकायका प्रमुख एवं पदाधिकारी, पूर्वप्रधानमन्त्री, राजनीतिक दलका नेता, नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरूको उपस्थिति रहेको थियो।
।
प्रधानन्त्री नियुक्त भएलगत्तै देउवाले कांग्रेस र माओवादीलाई समेटेर मन्त्रिपरिषद् गठन गरेका हुन्।
जनता समाजवादी पार्टीले सरकारमा जाने निर्णय गरे पनि मङ्गलबारै मन्त्रीको नाम पठाएन। अर्कोपटक मन्त्रिपरिषद् विस्तार गर्दा जसपा पनि सहभागी हुने जनाइएको छ। राष्ट्रिय जनमोर्चाले चाहिँ अहिले सरकारमा सहभागी नहुने जनाएको छ। जनमोर्चाको बैठक बसेर यससम्बन्धी निर्णय गर्ने भएको छ।
नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने सरकारमा सहभागी हुने/नहुने निश्चित छैन। प्रतिनिधि सभा पुनःस्थापनासम्म मात्रै सहकार्य रहेको जनाउँदै अब एमालेले गर्ने निर्णयका आधारमा चल्ने नेता नेपालले सोमबार पाँच दलीय बैठकमा जानकारी गराएका थिए।
सर्वोच्च अदालतको फैसलापछि नेपालको संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्नेछ।

