काठमाडौं : नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदल अझै सहमतिमा पुग्न सकेको छैन । तर भोलिसम्म सहमतिमा पुग्ने विश्वास नेताहरुले व्यक्त गरेका छन् ।

शनिबार सिंहदरबारमा बसेको बैठकमा पार्टी एकताका समस्या र समाधानका विषयमा छलफल भएको बताउँदै कार्यदलका सदस्य गोकर्ण विष्टले भने, ‘भोलि सुखद समाचार सुन्न पाउनुहुन्छ ।’
त्यस्तै नेता भीम रावलले छलफल अन्तिम विन्दुमा रहेको बताउँदै छिट्टै निष्कर्ष निक्लने कुरा बताए । ‘हामीले विभिन्न विषयमा छलफल गरेका छौं । छलफलको अन्तिम विन्दुमा छौं । सम्भवतः छलफललाई छिट्टै पूरा गरेर निष्कर्षमा पुग्नेछौं ।’
लामो समयदेखि अनौपचारिक सम्वादमा रहेका दोस्रो तहका नेताहरुले सोमबारदेखि कार्यदल स्तरमा छलफल गरेका थिए । पछिल्ला दिनहरुमा नेताहरुले सहमति नजिक पुगेको बताउँदै आए पनि सर्वोच्च अदालतमा विचाराधीन संसद् विघटनको मुद्दामा समझदारी बन्न सकेको छैन ।
कार्यदलमा अध्यक्ष केपी शर्मा ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् भने नेता नेपालको पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त रहेका छन् ।

