सुनसरी : केही दिनदेखिको वर्षाका कारण सप्तकोसी नदीको बहावमा उतारचढावको आइरहेको छ । पूर्वी पहाडी भेगमा निरन्तर भइरहेको वर्षाले सप्तकोसीको बहावमा उतारचढावको स्थिति सृजना भएको हो ।

सामान्यतया नदीको बहावमा ५० देखि ७० हजार क्यूसेक प्रतिसेकेण्ड पानी रहने कोसीको बहाव निरन्तरको वर्षासँगै बढ्दो क्रममा छ । शुक्रबार साँझको मापनअनुसार कोसी ब्यारेज भएर १ लाख ५५ हजार ९ सय ७५ क्यूसेक पानी बगिरहेको छ ।
कोसी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारीअनुसार १ लाख ५५ हजार ९ सय ७५ क्यूसेक प्रतिसेकेण्ड बहाव मापन हुँदा ब्यारेजका २४ वटा ढोका खोलिएका छन् । कोसीको पछिल्लो मापनअनुसार नदीको बहावमा निरन्तर वृद्धि भइरहेको छ ।
सुनसरी जिल्ला प्रशासनले सप्तकोशी नदीको जलस्तरमा घटबढको क्रम जारी रहे पनि अहिलेसम्म तटीय क्षेत्रमा भने कुनै पनि खतरा नरहेको बताएको छ । प्रशासनले सबै तटबन्ध र स्पर सुरक्षित रहेको र नियमित अनुगमनसमेत जारी रहेको बताएको छ ।
निरन्तर वर्षा भइरहेको हुँदा नदीको बहाव कुनै पनि बेला बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रका वासिन्दालाई सर्तक रहन भने सूचित गर्दै आएको सुनसरी प्रशासनले जनाएको छ ।

