गृहमन्त्री विष्णुप्रसाद पौडेलले विपदबाट हुनसक्ने सबै खालका क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न निर्देशन दिएका छन् । मन्त्री पौडेलले उद्धार, राहत र पुनःस्थापनालाई उच्च प्राथमिकता दिएर काम गर्न पनि निर्देशन दिएका छन् ।

गृह मन्त्रालयमा बिहीबार बसेको विपद् सम्बन्धी बैठकमा पौडेलले देशका विभिन्न ठाउँमा अतिवृष्टिबाट भएको जोखिमलाई विशेष ध्यान दिएर आवश्यक तयारी गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।उहाँले विपदका कारण जोखिममा परेकालाई सरकारले तत्काल राहत र उद्धारका लागि सम्भव भएका सबै प्रयास गर्ने प्रतिवद्धता उनले व्यक्त गरे । राहत र उद्धारका लागि स्रोतको अभाव नहुने दावि उनले गरे ।
‘विपद्का घटना भएपछि के गर्ने भन्दा पनि पहिले नै कसरी घटनाहरूलाई न्यूनीकरण गर्न सकिन्छ भन्नेमा ध्यान केन्द्रीत गर्नुपर्छ’ पौडेलले भने।राहत र उद्धारका लागि अन्तरमन्त्रालय र विभिन्न निकायबीच समन्वय हुनु पर्नेमा उनले जोड दिए ।
विपदबाट क्षति न्यूनीकरणका लागि एकीकृत कार्य योजना ल्याउने तयारी भइरहेको मन्त्री पौडेलले जानकारी दिए ।
बैठकमा गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले कोषमा पाँच अर्ब भन्दा बढी रकम रहेकाले राहत र उद्धारमा स्रोतको कमी नहुने बताए ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बाढी पहिरो लगायतले पुर्याएको क्षति र नोक्सानीको एकिन विवरण र आर्थिक लागत निकाली पुनर्स्थापना र पुनर्निर्माणका कार्यहरु अघि बढाउने तयारी भएको जानकारी दिए ।
बैठकमा भौतिक पूर्वाधार तथा यातायात, उद्योग, वाणिज्य तथा आपूर्ति, उर्जा, जलस्रोत तथा सिचाईँ मन्त्रालयका सचिवको सहभागिता थिए । त्यसैगरी संघीय मामिला तथा सामान्य प्रशासन, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, राष्ट्रिय योजना आयोगका सचिव र सुरक्षा निकायका प्रमुखहरु समेत सहभागी थिए ।

