कुखुराको उत्पादन घट्दा मासुको मूल्य बढेको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञाका साथै कुखुरामा देखिएका रानिखेतलगायतका रोग र पछिल्लो समय लगातारको वर्षाका कारण विभिन्न जिल्लामा आएको बाढीपहिरोको प्रकोपले गर्दा कुखुरा उत्पादनमा असर पर्न गई मासुको मूल्य बढेको हो ।

कारोना महामारीका कारण उत्पादन भएका कुखुरा नबिक्ला कि भन्ने डरले अहिले कतिपय किसानले खोर खाली नै राखेका छन् भने यसअघि विभिन्न जिल्लामा देखिएको रानिखेत रोगले गर्दा पनि किसानहरूमा केही त्रास छाएको छ । लगातारको वर्षाका कारण आएको बाढीपहिरोले कुखुरा पालक किसान घटेपछि चल्ला उत्पादनसमेत घटाउनु परेको व्यवसायीहरूको भनाइ छ । सरोकारवालाहरूका अनुसार कोरोना महामारी, रानिखेत र बाढीपहिरोको प्रकोपका कारण अहिले ३० प्रतिशतजति कुखुरापालक किसानले कुखुरा पाल्न छाडेका छन् ।

नेपाल ह्याचरी उद्योग संघका निवर्तमान अध्यक्ष टीकाराम पोखरेलका अनुसार यसअघि ४२ देखि ४५ लाख चल्ला उत्पादन हुने गरेकोमा अहिले यो परिमाण घटेर ३१ लाखमा झरेको छ । बाढीपहिरोका कारण विभिन्न जिल्लामा बाटोघाटो अवरुद्ध भएपछि किसानहरूले खोरमा नयाँ चल्ला हाल्न छाडेको उनले बताए ।

उत्पादनमा असर परेपछि त्यसको प्रत्यक्ष असर कुखुराको मासुको मूल्यमा परेको बताइएको छ । मासु व्यवसायी संघले दिएको जानकारीअनुसार करीब १ महीना अघिसम्म प्रतिकिलो २ सय ९० रुपैयाँ रहेको ब्रोइलर कुखुराको मासुको मूल्य अहिले ४० रुपैयाँले बढेर प्रतिकिलो ३ सय ३० रुपैयाँ कायम भएको छ । खुद्रा बजारमा भने यो मूल्य ३ सय ५० रुपैयाँसम्म रहेको छ ।

यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *