काठमाडौं : गृहमन्त्री विष्णुप्रसाद पौडेलले आफ्नो जिम्मेवारी अनुरुपको काम गर्न प्रहरी प्रशासन स्वतन्त्र रहेको बताएका छन् ।

शुक्रबार गृहमन्त्रीको कार्यभार सम्हाल्दै मन्त्री पौडेलले आफूले गृह प्रशासन र प्रहरीलाई कुनै पनि प्रकारको हस्तक्षेप नगर्ने भन्दै जवाफदेही भएर आ-आफ्नो काम गर्न सबै स्वतन्त्र रहेको बताए ।
उनले आफूसहित गृह सचिवले पनि कुनै प्रकारको हस्तक्षेप नगर्ने बताए। संवैधानिक व्यवस्था र कानुनी प्रबन्धका आधारमा आफ्नो जिम्मेवारी पूरा गर्न उनले निर्देशन दिए । मन्त्री पौडेलले नतिजामुखि काम आफूले खोजेको पनि बताए।
मन्त्री पौडेलले सरुवा, बढुवा तथा थमौतीका लागि एकजना प्रहरी पनि आफूकहाँ नआउन निर्देशन गरे। आफू मन्त्रीको हैसियतमा गर्नुपर्ने निर्णय र निर्देशनका लागि जिम्मेवार भएको भन्दै उनले प्रहरी प्रमुखका हैसियतले गर्ने काममा स्वतन्त्र भएर काम गर्न सक्ने बताए ।
उनले राजनीतिक परिस्थितिको प्रभाव गृहमन्त्रालयमा पर्न नहुने पनि बताए । अदालतमा भएका मुद्दा र वर्तमान राजनीतिक परिस्थितिको प्रभावमा नपरी आफ्नो काम गर्न पनि उनले निर्देशन दिए ।

