काठमाण्डु, ११ मंसीर २०८२ – राजधानीको सिनामंगल स्थित ब्रिजवाटर एजुकेशन फाउण्डेशनले आज प्रज्ञा भवन कमलादीमा सम्पन्न एक भव्य समारोहका बीच नेपालको राष्ट्रिय जीवनमा उल्लेखनीय योगदान पुर्‍याउनु हुने तीन जना ख्यातिप्राप्त विशिष्ट व्यक्तित्वहरुलाई अभिनन्दन गरेको छ। बार्षिक रुपमा गरिने सो  अभिनन्दन समारोहको मुख्य अतिथि राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा जगदिशचन्द्र पोखरेल हुनुहुन्थ्यो भने समारोहको सभापतित्व फाउण्डेशनका अध्यक्ष चार्टर्ड एकाउण्टेण्ट दीपक पाण्डेले गर्नु भएको थियो। प्रमुख अतिथि डा पोखरेलले यस किसिमको अभिनन्दनको उत्कृष्ट परम्परा कायम गर्दै अगाडि बढेकोमा ब्रिजवाटर एजुकेशन फाउण्डेशनका लागि प्रशंसा र शुभेच्छा प्रकट गर्नु भएको थियो।

अभिन्दित व्यक्तित्वहरुमा कवि एवं प्रस्तोता डा नवराज लम्साल , कलाकार एवं श्रव्य-दृश्य अभिनेता दीपकराज गिरी एवं बैकिङ एवं वित्त तर्फ नबिल बैंकका मुख्य कार्यकारी अधिकृत सिए मनोज ज्ञवाली हुनुहुन्थ्यो।

उक्त अभिनन्दन-स्वागत एवं बिदाइ कार्यक्रमको महत्वको बारेमा बोल्दै फाउण्डेशनका अध्यक्ष दीपक पाण्डेले अभिनन्दित व्यक्तित्वहरू सबैका लागि मार्गदर्शक प्रेरणा स्रोत हुनुहुन्छ र वहाँहरुको जीवन र कर्मले हामीलाई सही मार्गतर्फ प्रेरित गरिरहनेछ भन्दै वहाँहरुलाई सम्मान गर्न पाउँदा ब्रिजवाटर परिवार धन्य भएको बताउनु भयो।

अभिनन्दित व्यक्तित्वहरूले पनि सधन्यवाद आफ्नो सारगर्भित मन्तव्य मार्फत फाउण्डेशन परिवार एवं विद्यार्थीहरुको उतरोत्तर प्रगतिको कामना गर्नुभएको थियो। उहाँहरूले आफ्नो जीवन, कर्म र अनुभवको सार व्यक्त गर्दै नयाँ पुस्तालाई शिक्षा, साहित्य, कला, संस्कृति, अर्थ, वित्त र मानवीय विकासका लागि आ-आफ्नो कर्म क्षेत्रमा दृढ भई समर्पण र मेहनतका साथ  अगाडि बढ्न प्रेरित गर्नु भएको थियो।
फाउण्डेसनका प्राचार्य कृष्ण पौडेलले समाज र राष्ट्रका पृथक क्षेत्रहरुमा अतुलनीय योगदान पुराउनु हुने व्यक्तित्वको सम्मानको संस्कार ब्रिजवाटरको विशिष्ट पहिचान बनिसकेको चर्चा गर्दै नवागन्तुक विद्यार्थीको स्वागत एवं पढाइ सकेर जाँदै गरेका विदयार्थीलाई बिदाइ शुभकामना व्यक्त गर्नु भएको थियो। कार्यक्रममा कलेजका सहायक प्राचार्य विष्णु शर्माले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो।

कलेजका  शिक्षक, कर्मचारी, विद्यार्थी,  पत्रकार, शुभेच्छुक र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको सो कार्यक्रमको दोस्रो सत्रमा दिनभरि नै विविध सांस्कृतिक एवं मनोरञ्जनात्मक कार्यक्रमको प्रस्तुति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *