काठमाडौं– गोप्य सरकारी दस्तावेजहरुलाई गलत तरिकाले राखेको आरोप खेपीरहेका अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम मियामीस्थित संघीय अदालतमा पेस भएका छन्। अदालतमा ट्रम्पले आफू उक्त प्रकरणमा निर्दोष भएको दाबी गरेका छन्।
ट्रम्पभन्दा पहिले अमेरिकाका पूर्व वा बहालवाला कुनै पनि राष्ट्रपतिले यसप्रकारको आरोपको सामना गरेका थिएनन्। पद हस्तान्तरण गर्ने बेला राष्ट्रिय सुरक्षा दस्ताबेज गैरकानुनी रुपमा राखेको तथा दस्ताबेज फिर्ता ल्याउन सरकारी प्रयासमा बाधा पुर्‍याएको आरोप ट्रम्पमाथि छ।

मियामीको संघीय अदालतमा मजिस्ट्रेट न्यायाधीश जोनाथन गूडम्यानसमक्ष ट्रम्पका वकिलले भने, ‘हामी निश्चित रुपमा दोषी नभएको दलिल दर्ज गर्दछौँ।’
७६ वर्षका पूर्वराष्ट्रपति ट्रम्पलाई अदालतले बिना कुनै शर्त तथा प्रतिबन्ध घरेलु तथा अन्तर्राष्ट्रिय यात्रा गर्ने अनुमति दिएको छ।

ट्रम्पकी पूर्व वकिल एलिना हब्बाले अदालत बाहिर बसेका सञ्चारकर्मीसँग ट्रम्पको दाबी दोहोर्‍याउँदै आरोपहरु राजनीतिबाट प्रेरित भएको दाबी गरिन्। उनले पत्रकारहरुसँग भनिन्, ‘हामी हाम्रो राष्ट्रको एक महत्त्वपूर्ण मोडमा छौं। एक प्रमुख राजनीतिक प्रतिद्वन्द्वीलाई अभियोजन पक्षले निशाना बनाउँदैछ। यस्तो तानाशाही क्युबा र भेनेजुएलामा देखिन्छ।’

ट्रम्पसँग भइरहेको व्यवहारले देशका सबै नागरिकको मनमा डर पैदा गरेको उनले दाबी गरिन्।

सन् २०२४ मा हुने राष्ट्रपतीय चुनावमा ट्रम्प पुन: उम्मेदवार बन्ने तयारीमा छन्। ट्रम्प चुनावी तयारीमा रहेका बेला उनको कार्यकालका विवादित घटनाहरु बाहिरिएका छन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *