युवा र राजनीति

जब जब राजनीतिक घटनाक्रमहरुले अग्रता लिदैं जान्छन , जब देश चुनाबी प्रक्रियामा होमिन थाल्छ,तब युवा पुस्ताको राजनीति प्रमुख बिषय बन्न पुग्छ । नीतिको राज गर्ने सिद्धान्त नै राजनीति हो तर यँहा अपरिपक्व नेतृत्व, सचेतनाको अभाव यी र यस्तै बिषय बस्तुको कारणले युवा पुस्तामा राजनीति प्रतिको बिश्वाश घट्दो देखिन्छ। युवा विकास सूचकांकमा नेपाल विश्वमा ७७ औं स्थानमा रहेको छ । १९.२ प्रतिशत युवा पूर्ण बेरोजगार , कृषिमा युवाहरूको संलग्नता ५०.२ प्रतिशत र २६.१ प्रतिशत युवाहरू स्नातक भएर पनि बेरोजगार बस्नुपरेको अवस्था छ ।

कुनै पनि देशको राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक लगायतका क्षेत्रहरुमा युगान्तकारी बदलाव गर्ने सवालमा युवाहरुको भूमिका सदैव अग्रणीय रहदै आएकोले युवा वर्गलाई परिवर्तनका संवाहक शक्तिको रुपमा समेत लिने गरिन्छ । संसारका विभिन्न देशहरुले युवा जनसंख्यालाई आफु अनुकूलको उमेर परिधिमा राखेको पाईन्छ । त्यसै अनुरूप नेपालको राष्ट्रिय युवा नीति, २०७२ ले समेत १६ देखि ४० वर्षसम्मको उमेर समुहलाई युवा भन्नि परिभाषित गरेको छ । नेपालमा कुल जनसंख्याको ४०.३५५ संख्या युवाको छ ।

झोले राजनीति सिकार बनेका हाम्रो देशका युवा पिढी हरुमा राजनीति प्रतिको बिश्वाश पटक्कै देखिदैन। बिभिन्न बिकसित देशको कुरा गर्ने हो भने अधिकाँश देश हाँक्ने नेताहरु युवा अवस्था कै छन् । तर हाम्रो देशको राजनैतिक पृष्ठभूमि त के बनेको छ भने जब सम्म बुढ्यौलीले छुदैन तब सम्म देशको नेतृत्व गर्ने अधिकार मिल्दैन। नेपालका विभिन्न राजनैतीक दलका केहि युवा नेताहरु पनि आजकल त् झोले नेता कै रूपमा अगांडी बढेको देखिन्छ ।
नेपाली राजनीतिमा सक्रिय युवा पुस्ता राजनीतिक संस्कार भन्दा धेरै गुट-उपगुटद्वारा दीक्षित छ, आफू नजिकका ‘कमरेड’ अनि ‘दाइ’ हरूकै स्तुतिगान र त्यसबाट प्राप्त हुने क्षणिक लाभ मै रमाइरहेको छ । तत्कालमा युवा नेतृत्वको संकटजस्तो मात्रै देखिए पनि भविष्यमा नेपालको मूलधारको राजनीतिको नेतृत्व गर्ने गरी एउटा जमात यसरी नै तयार हुँदै छ । ‘कमरेड’ अनि ‘दाइ’ हरूको कृपा रहिरहने हुँदा यो जमातले बाहिरबाट राजनीतिमा प्रवेश गर्न खोज्ने र यसमा गहिरो रुचि अनि इच्छा भएका नयाँ पुस्तालाई सहजै स्वीकार अवश्य गर्ने छैन ।
हरेक खाले क्रान्ति र बदलावको अग्रमोर्चाहरुमा युवा वर्गको त्याग, बलिदान, संघर्ष र सहभागिता रहदै आएको छ तरपनि हाम्रो देशमा परिवर्तित व्यवस्थाको नेतृत्व गर्न पाउने अवसर अहिलेसम्म युवा वर्गले पाउन सकेका छैनन् । हरेक नीतिको मुल नीति मानिने राजनीति लगायतका मुलभुत क्षेत्रहरुमा युवा वर्गलाई उच्च स्तरमा योजना तथा नीति निर्माण र नेतृत्वदायी भुमिका निर्वाह गर्नबाट बञ्चित गर्न सिमा र षड्यन्त्रका पर्खालहरु यत्रतत्र खडा गरेको पाइन्छ । राजनैतिक बितृष्णाबाट निर्देशित नेतृत्व परिवर्तनको आशा गरेका केहि युवा हरु राजनैतिक भूमिकामा देखिएपनि विभिन्न षड्यन्त्रका कारण छिट्टै असफल बन्ने अथवा धेरै बिबादित बन्ने/बनाइने प्रवृति नेपालि राजनीतिमा हावी छ ।

राजनीतिमा युवापुस्ता किन आउन सकिरहेका छैनन् ? यो मुलभूत विषय हो । राजनीतिमा लहैलहैमा लागेर जाने युवाको संख्या उल्लेख्य भए पनि राजनीति बुझेर नै योगदान गर्न संलग्न हुनेको संख्या भने निकै कम छ । राजनीतिमै भएर पनि राजनीतिमा हस्तक्षेप गर्न सक्ने युवा त विरलै भेटिन्छन् । राजनीतिमा आफ्नो भविष्य देखेर लागेका युवा जमात पनि परिबर्तित राजनैतिक घटनाक्रमको असरले विछिप्त हुने अवस्थामा छन् । एक ले अर्कोलाई खुट्टा तान्ने प्रवृति नै आजको नेपालि राजनीतिको मूल घटक हो भन्नु किमार्थ गलत हुन सक्दैन ।उदाहरणको लागि म एक युवा जो राजनीतिलाई कर्म थलो बनाएर व्यक्तिगत तथा देशकै भविष्य निर्माण गर्ने इच्छा राखे भने मलाई मेरो देशको राजनैतिक नेतृत्वले कदापि स्थान दिदैंन किनकि नेपालि राजनीतिमा पार्टीको झन्डा बोकेर तिनै बुढा नेताहरुको गुलामी गर्नु अपरिहार्य हुन्छ ।

रोजारिको अभाब अन्योल भविष्यको कारण ले १७ देखि १८ बर्षको उमेर मा कक्षा १२ पास गरेको युवा आज सडकका गल्लि हरुमा विदेश पठाउने कन्सल्टेन्सी र मेन पावर कम्पनीको खोजीमा हुन्छ । उसलाई के थाहा छ भने मा नेपालमा बसे भने कि त नेताको पछाडी लग्नुपर्छ अथवा दुख सुख हात मुख जोर्नलाइ कष्टकर जिबन यापन गर्नुपर्छ । युवा राजनीति गरिरहेका केहि नेताहरु पदमा पुगेर पनि परम्परागत राजनीतिक प्रणालीमै बग्न थालेपछि अहिले फेरि युवा राजनीतिबारे गन्थन सुरु भएको छ । युवा पदमा पुग्ने तर परिणाम दिन नसक्ने हो भने किन युवा नेतृत्व चाहियो भन्ने बहस महत्वपूर्ण बहस हो । हिजो यिनै नेता विद्यार्थी एवं युवा राजनीतिमा रहँदा परिवर्तनको वकालत गर्ने अनि आज सत्तामा पुगेपछि त्यस्तो के भयो, जसले उहाँहरूको परिवर्तन र विद्रोही स्वभावलाई मार्यो ? जसको कारणले गर्दा आज युवा साथिहरुमा राजनीति प्रतिको आस्था कम्जोर बन्दै गैरहेको छ ।देशको कुल जनसंख्याको ४० प्रतिशत भन्दा बढी हिस्सालाई मुल प्रवाहमा नल्यायसम्म मुलुकमा दिगो विकासको लक्ष्य र समुन्नत नेपाल एवं सुखी नेपालीको हाम्रो राष्ट्रिय आंकाक्षा पुरा गर्न असम्भव छ । तसर्थ युवा नेतृत्वलाई उचित स्थान दिई गुट उपगुटको राजनैतिक ब्यवस्थालाई हटाइ राजनैतिक स्थायित्व कायम गरि देश बीकासको नारालाई अगांडी बढाउनु पर्नेमा दुइ मत छैन ।

परम्परागत “दाइ” र ‘बा’ को राजनीति गर्ने हाम्रा नेतृव कर्ताको छिट्टै आँखा खुल्न सकोस अनि मात्र देश, समाज र जनताले फरक राजनैतिक आभाष
पाउनेछन ।
लेखक पेशाले पत्रकार तथा उप-प्राध्यापक हुन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *