देशलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन आयात प्रतिस्थापन गर्ने व्यावहारिक नीति तयार गरी कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिइएको छ ।

पछिल्ला दिनमा विदेशी मुद्राको सञ्चिति घट्नुको कारण बढ्दो आयात भएकाले त्यसलाई नियन्त्रण गर्दै आन्तरिक उत्पादनको वृद्धिमा लाग्नुपर्ने आर्थिक क्षेत्रका जानकारहरूले सुझाव दिएका छन् । सेन्टर फर प्रोफेसनल जर्नलिजम स्टडिजले आज आयोजना गरेको ‘नेपालको वर्तमान आर्थिक अवस्था एक सिंहावलोकन’ विषयक अन्तक्र्रियामा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले आगामी दिनमा हुनसक्ने आर्थिक सङ्कटबाट जोगिनका लागि आन्तरिक उत्पादनलाई बढवा दिनुपर्ने बताउनुभयो । उहाँले अत्यावश्यक बाहेकका वस्तुको आयातमा रोक लगाउन सुझाव दिनुभयो ।

अर्थ मन्त्रालयका सल्लाहकार डा सुरेन्द्र उप्रेतीले विदेशी मुद्राको सञ्चिति घट्न थालेपछि आयात निरुत्साहित गर्ने नीति लिएको प्रस्ट पार्दै विदेशी मुद्रा जोगाउने विषयमा सकार सचेत रहेको बताउनुभयो । आयात निरुत्साहित गर्ने नीतिसँगै चालु आवको पछिल्लो ६ महिनामा विदेशी मुद्रा बाहिरिने क्रम रोकिएको उहाँको दाबी छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेलले विदेशी लगानी ल्याएर भए पनि आन्तरिक उत्पादन बढाउने र विद्युत्को माग बढेअनुसार प्रशारण र वितरण लाइनमा सुधार गर्दै आन्तरिक उत्पादन बढाउने योजनामा सरकार रहेको सुनाउनुभयो । उद्योगी पवल गोल्यानले आर्थिक क्षेत्रमा तरलताको समस्याले उद्योगसमेत बन्द हुने अवस्थमा पुगेको बताउँदै आन्तरिक उत्पादन बलियो नहुँदासम्म अर्थतन्त्र बलियो हुन नसक्ने धारणा राख्नुभयो ।

अर्थशास्त्री डा गोविन्द नेपालले पार्टीगत र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर मुलुकको आर्थिक विकासको निम्ति लाग्न राजनीतिक दलका नेतालाई आग्रह गर्नुभयो । अर्थशास्त्री डा रघुवीर विष्टले सरकारले आन्तरिक उत्पादनबारे प्रस्ट नीति बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।रासस

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *