सरकारले अमेरिकी अनुदान सहायता (एमसीसी) सम्झौता अनुमोदनका लागि प्रतिनिधि सभामा पेस गरेपछि त्यसविरुद्ध काठमाडौँको नयाँबानेश्वर क्षेत्रमा दैनिकजसो प्रदर्शन हुँदै आएका छन् । प्रदर्शनमा सत्ता साझेदार दलका भ्रातृ संस्थासमेत सहभागी छन् । शान्तिपूर्ण रूपमा सुरु हुने विरोध हरेक दिन साढे १ बजेपछि भने भड्किन थाल्छ ।

बिहीबार पनि बानेश्वरमा भएको प्रदर्शन त्यस्तै भयो । बिहान ११ बजे सुरु भएको प्रदर्शनमा सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को भ्रातृ सङ्गठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल), अखिल क्रान्तिकारीलगायतका सङ्गठनले शान्तिपूर्ण विरोध गरे । ती सङ्गठनको विरोध कार्यक्रम चलिरहेकै बेला भीड उत्तेजित हुन थाल्यो । प्रदर्शनकारीले प्रहरीमाथि त्रिशूल, लाठी, इँटा प्रहार गर्न थाले । निषेधित क्षेत्र तोड्ने प्रयास भयो ।
फागनु ८ गतेसमेत शान्तिपूर्ण रूपमा सुरु भएको विरोध कार्यक्रम दिउँसो २ बजेको आसपासमा भड्किएको थियो । पूर्वयोजनाअनुरूप प्रदर्शनकारी ढुङ्गा, इँटा, पेट्रोल बमसमेतको प्रहारबाट झन्डै ३५ प्रहरी घाइते भएका थिए । प्रदर्शनकारीतर्फ समेत १२ जना घाइते भएका थिए । गत आइतबारजस्तै बिहीबार पनि साढे १ बजेदेखि प्रदर्शन भड्कियो । प्रहरीमाथि लाठी र इँटा प्रहार भए पनि प्रहरी निकै संयमित थियो ।स्रोत: गोरखापत्र अनलाइन ।

