रुघाखोकी, ज्वरो, टाउको र राति सुत्नै नसक्ने गरी जिउ दुख्ने गरेको छ तर पीसीआर गर्न वा रिपोर्ट आउन बाँकी छ भन्नेहरू अचेल यत्रतत्र भेटिन्छन्। देशभर सक्रिय संक्रमित ७२ हजारभन्दा बढी र उपत्यकामै ४७ हजारभन्दा बढी छन्। दुवै मात्रा खोप लगाएकाको पनि संक्रमण, जटिलता तथा मृत्यु देखिएको छ। कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन र डेल्टा भेरियन्टका कारण संक्रमितको सुनामी आउने चेतावनी विश्व स्वास्थ्य संगठनले डिसेम्बरमै दिइसकेको छ। फ्रान्सका प्रधानमन्त्री जँ कास्टेक्सले ओमिक्रोनको संक्रमण बिजुली चम्केको गतिमा रहेको बताएका छन्।

 

खुला सीमा भएकाले छिमेकबाटै दैनिक हजारौं ओहोरदोहोर गरिरहेका छन्। नेपालमा पनि हप्तामै संक्रमित सयबाट हजारतिर उकालो लागिरहेका छन्। स्कुल, कलेज गएर रमाउन मात्रै थालेका विद्यार्थी फेरि घरकै कोठामा सीमित हुन पुगेका छन्। स्वास्थ्यका जनशक्तिमा संक्रमण ह्वात्तै बढेको छ। अभावै अभावमा काम गरिरहेका सीमित जनशक्ति पनि क्वारेन्टाइन र आइसोलेसनमा छन्। त्यसैले अस्पतालका सेवामा प्रभाव परेको प्रष्टै देखिन्छ। इम्पेरियल कलेज लन्डनको कोभिड—१९ प्रतिक्रिया टोलीले भर्खरै गरेको अध्ययनमा ओमिक्रोन भेरियन्टले पुनः संक्रमणको जोखिम डेल्टाभन्दा ५.४ गुणा बढी र विगतमा संक्रमण भएकामा पुनः संक्रमणविरुद्ध सुरक्षा १९ प्रतिशतले कम
हुने देखाएको छ।

पहिलो लहरमा भाइरसले एकबाट अर्को दुईजना र दोस्रो लहरमा डेल्टा भाइरसले एक जनाबाट पाँचजनासम्म संक्रमित गराउँथ्यो। तेस्रो अर्थात् ओमिक्रोनले एकबाट १० जनालाई संक्रमित गराउने क्षमता राख्छ। त्यस्तै खोप नलगाउनेमा लगाएको व्यक्तिमा भन्दा १० गुणा बढी संक्रमण, अस्पतालमा भर्ना भएर गाह्रो बनाउने १७ गुणा र मृत्यु हुने संभावना २० गुणाले बढी हुन सक्ने सम्भावना रहेको देखिएको छ। दोस्रो डेल्टाबाट भन्दा ओमिक्रोनले भर्ना हुने दर ८० गुणा र मृत्यृ हुने सम्भावना १० गुणा कम देखिएको छ। डेल्टाभन्दा फोक्सोमा नभई श्वासनलीमा आक्रमण गर्ने ओमिक्रोन ७० गुणा तीव्र गतिले फैलिने गर्दा विस्तारै घातक देखिँदैछ। हाइफ्लो अक्सिजन, अक्सिजन कन्सेन्ट्रेटर खासै नभएको दोस्रो लहरबाट हाल ६ सय ९३ र क्यानुला ६ सय बढी छ। २५ अक्सिजन ट्यांकमा १९ वटा र १ सय ७ अक्सिजन प्लान्टमध्ये ८७ प्लान्ट आजसम्म सञ्चालनमा आइसकेका छन। विश्वमा २ सयभन्दा बढी देशमा संक्रमित ३० करोड बढी र मृत्यु ५५ लाखभन्दा बढीको भइसकेको छ।स्रोत : अन्नपुर्ण पोष्ट ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *