काठमाडौं, पुस १५ गते । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले गुरुङ समुदायको महान् चाड ‘तमु ल्होसार’ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीको सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
उहाँहरूले अलग–अलगरूपमा बिहीबार दिनुभएको शुभकामना सन्देशमा यस्ता पर्वले राष्ट्रिय एकतालाई बलियो अझ बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको छ । तमु ल्होसारले गुरुङ समुदायको नयाँ संवत् सुरु भएको सङ्केत गर्दछ । गुरुङ समुदायले बिहीबार पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गर्दै यो पर्व मनाउने प्रचलन छ ।

सन्देशमा राष्ट्रपतिले मुलुकको मौलिक सांस्कृतिक सम्पदाको संरक्षण तथा सम्बद्र्धन गर्दै पर्यटन प्रबद्र्धनमार्फत् आर्थिक र सामाजिकरूपमा समृद्ध मुलुक निर्माण गर्न गुरुङ समुदायले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ ।
नेपाली समाज विविधताले भरिएको इन्द्रेणीजस्तै सुन्दर र सौम्य छ भन्दै राष्ट्रपतिले तमु ल्होसारजस्ता पर्वबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

