काठमाडौँ, पुस ७ गते । फाइजर खोपको दोस्रो मात्रा लगाउन छुटेका उपत्यकाका बालबालिकाका लागि बुधबार खोपको व्यवस्था गरिएको छ । स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख शम्भु काफ्लेले धेरै बालबालिकाले पहिलो मात्रा लगाएका तर दोस्रो मात्रा लगाउन बाँकी रहेको गुनासो आएपछि फाइजर खोपको दोस्रो मात्रा बुधबारका लागि छाउनीस्थित नेपाली सैनिक अस्पतालमा व्यवस्था गरिएको बताउनुभयो ।

स्वास्थ्य कार्यालयले हरेक दिन कोरोनाविरुद्धको भेरोसेल र कोभिसिल्डको पहिलो र दोस्रो मात्रा खोप दिइरहेको छ । उहाँका अनुसार सैनिक अस्पताल छाउनी, शिक्षण अस्पताल महाराजगञ्ज, नेपाल प्रहरी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल र निजामती अस्पतालमा सधैँभरि खोप लगाइने व्यवस्था गरिएको छ । यसअघि कुनै एक केन्द्रमा एक किसिमको खोप पाउने गरेकोमा अब सबै केन्द्रमा दुवै खोप पाइनेछ ।

स्वास्थ्य कार्यालय प्रमुख काफ्लेले पहिलो वा दोस्रो मात्रा खोप एकै पटक लगाउन पाइने जानकारी दिँदै अब हरेक केन्द्रमा दुवै खोपको व्यवस्था गरिएको बताउनुभयो । उहाँले दुवै खोपको व्यवस्था मङ्गलबारबाट गरिएको बताउँदै अस्पतालबाहेक प्रमुख चार नाकाबाट पनि खोपको व्यवस्था गरिएको बताउनुभयो । कोटेश्वर, नयाँ बसपार्क, कलङ्की र बल्खुमा खोपको व्यवस्था गरिएको छ ।

हाल मोडर्ना खोप लगाएका ५७ जिल्लाबाहेकका बालबालिकालाई फाइजर खोप लगाइने भएको छ । सरकारले १२ देखि १८ वर्षसम्मका बालबालिकालाई फाइजर खोप लगाउन लागेको हो । खोप शाखा प्रमुख सागर दाहालले यही पुस १३ देखि २२ गतेसम्म पहिलो मात्रा फाइजर खोप सञ्चालन निश्चित भए पनि अझै फाइजर खोप नआएका कारण उक्त मिति सर्न सक्ने बताउनुभयो । उहाँले यसअघि फाइजर खोप लगाइएका जिल्लाबाट पुनः फाइजर खोप लगाउन सुरु गरिने जानकारी पनि दिनुभयो । उहाँका अनुसार डिसेम्बर २३ वा २४ तारिखसम्ममा छ लाख फाइजर खोप आउने छ । खोप आउन ढिलाइ भएमा यसअघि तोकिएको दिन परिवर्तन हुनसक्ने छ ।स्रोत: गोरखापत्र अनलाईन ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *