काठमाडौं : प्रमुख प्रतिपक्ष दल एमालेले गरेको अवरोधका कारण राष्ट्रियसभाको सोमबारको बैठक पनि अघि बढ्न सकेन। बैठक सञ्चालन गर्नमा अवरोध सृजना भएपछि अर्को बैठक अनिश्चित कालका लागि स्थगित भएको छ।

अवरोधका कारण सोमबारको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको थियो। कार्यसूचीमा राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०७६/७७ र ०७७ र ०७८ को वार्षिक प्रतिवेदन पेश गर्ने विषय थियो। प्रधानमन्त्रीको तर्फबाट कानुनमन्त्री दिलेन्द्र बडु प्रतिवेदन पेश गर्ने तयारीमा बसेका थिए।
बैठकको सुरु हुनबित्तिकै एमालेका सांसदहरू आ–आफ्नो स्थानबाट उठेपछि एमाले सांसद देवेन्द्र दाहालले आफ्नो भनाइ राखेका थिए। उनले एमालेले दसौं अधिवेशनमा उठाएका मुद्दा यथावत रहेकाले संसद् अवरुद्ध गर्नुपरेको बताए।
एमालेका सांसदहरुले बैठक अघि बढ्न अवरुद्ध गरेपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक स्थगित गरिएको घोषणा गरेका थिए ।

