logo

काठमाडौँ, पुस ५ गते । वैदेशिक रोजगारीमा खाडी मुलुक गएर फर्किने अधिकांश कामदार सुन तस्करको भरियाका रूपमा फर्किने गरेको खुलेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल फर्किने कामदार सुन तस्करीको भरियाका रूपमा प्रयोग भएको पाइएपछि अनुगमनलाई कडाइ पारिएको छ ।
मलेसिया, दुबई, कतारलगायत खाडी मुलुकबाट फर्किएकामध्ये ८० प्रतिशत सामान्य मजदुरलाई सुन तस्करले प्रलोभनमा पारेर नेपालतर्फ सुन पठाउने गरेका छन् ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख महेश भट्टराईले खाडी मुलुकबाट फर्किने अधिकांश कामदार तस्करको भरियाका रूपमा प्रयोग भएको खुलेको जानकारी दिँदै भन्नुभयो, “खाडी मुलुकबाट फर्किने कामदारलाई प्रलोभनमा पारेर सुन बोकाएर पठाउने गरिएको देखिन्छ । यसलाई नियन्त्रण गर्न अपरेसन सञ्चालन गरेका छौँ ।” भरियाका रूपमा प्रयोग भएका कामदारबाट बरामद भएको सुन नियन्त्रणमा लिने र भन्सार तिरेपछि सुन लैजान सकिनेसमेत उहाँले बताउनुभयो ।

उहाँका अनुसार सुन ल्याउनेमा पर्यटक भिसा र कामदार भिसा दुवै वर्गका नेपाली छन् । कामदारमध्ये पनि १० प्रतिशतले चाहिँ वैध रूपमै सुन ल्याउने गरेको पाइएको छ । पर्यटक भिसाका पनि १० प्रतिशतले वैध रूपमा ल्याउने गरेका छन् ।
राजस्व छल्ने उद्देश्यले स्रोत नखुलेको सुन विमानस्थल हुँदै नेपाल भित्रिन थालेपछि भन्सार कार्यालयले मङ्सिर १३ गतेदेखि विशेष निगरानी सुरु गरेको छ । सोही दिन २१ किलो अवैध सुन बरामद भएको थियो । पछिल्लो तीन हप्तामा मात्र वैदेशिक रोजगारीबाट फर्किने दुई हजार ६० यात्रुले ल्याएको १०६ किलो सुन विमानस्थल भन्सार कार्यालयले बरामद गरेको छ ।

विमानस्थल भन्सार कार्यालयले निगरानी सुरु गरेको पहिलो हप्ता साढे ७२ किलोग्राम, दोस्रो हप्ता २१ किलोग्राम र तेस्रो हप्ता १३ किलोग्राम सुन बरामद गरेको जनाएको छ । भरियाका रूपमा प्रयोग हुने कामदार प्रलोभन र अन्जानमा फस्ने गरे पनि मुख्य तस्कर पत्ता लाग्न सकेका छैनन् । भन्सारमा कडाइपछि सुनको तस्करी कम भएको देखिएको छ ।

तस्करीको सुन कहाँबाट आइरहेको छ र कहाँ गइरहेको छ भन्नेबारे अनुसन्धान भइरहेको विमानस्थल भन्सार कार्यालयले जनाएको छ । तस्करीको ट्रान्जिट ब्रेक गर्न विशेष अपरेसन सुरु गरिएको बताउँदै प्रमुख महेश भट्टराईले विमानस्थलबाट हुने तस्करीलाई कडाइ गरेपछि वैदेशिक रोजगारीबाट फर्किने सामान्य कामदारलाई तस्करले प्रयोग गरेको बताउनुभयो । आम्दानीभन्दा बढी मूल्यको सुनका गहना बोकेर ल्याउने कतिपय मजदुरले नेपाली भाषा उल्लेख गरिएका बिलसमेत प्रयोग गर्ने गरेको देखिएको छ ।
भन्सार छल्ने उद्देश्यले कामदारलाई भरिया बनाएर ल्याएको सुनको गहनाजस्तो देखिने बाला, सिक्री, औँठी ल्याउने गरेका छन् । भन्सार ऐन, २०६४ अनुसार यात्रुले प्रयोग गरेको ५० ग्रामसम्मका सुनका गहना ल्याउन लैजान अनुमति दिइएको छ तर यात्रुले लगाएको सुनको स्रोत खुल्नुपर्छ । स्रोत नखुलेका वा शङ्कास्पद सुन वा गहना भन्सार कार्यालयले नियन्त्रणमा लिन सक्छ ।

नौ सयभन्दा बढी यात्रुले ल्याएको ९९ किलोग्राम सुन राजस्व तिरेर फिर्ता लगेका छन्, जसबाट नौ करोड रुपियाँभन्दा बढी राजस्व सङ्कलन भएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।
सुनको अवैध तस्करी बढ्न थालेपछि नियन्त्रणका लागि अर्थ मन्त्रालय र विमानस्थल भन्सार कार्यालय विशेष टोली संयुक्त रूपमा परिचालन गरिएको छ । अर्थ मन्त्रालयबाट १० र भन्सार कार्यालयबाट नौ जनासहित ७० जनाको टोलीले विमानस्थलमा सूक्ष्म अनुगमन गरिरहेको छ ।स्रोत: गोरखा पत्र ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *