काठमाडौँ : नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व राजा ज्ञानेन्द्रसँग पाँचबुँदे सहमति भएको भनी नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले लगाएको आरोप प्रमाणित गर्न चुनौती दिएका छन् ।

प्रचण्डले आज एक विज्ञप्ति जारी गर्दै ओलीले गलत प्रचार गरेको भनी खण्डन गर्दै चुनौती दिएका हुन् ।
उनले भने , “म केपी ओलीलाई पाँचबुँदे सहमति प्रमाणित गर्न चुनौती दिन्छु ।”
अध्यक्ष प्रचण्डले सो विज्ञप्तिमा एमाले अध्यक्ष ओली मार्क्सवाद र कम्युनिस्ट सिद्धान्तबाट धेरै पर पुगेको भनी आरोप पनि लगाएका छन् ।
ओलीले बुधबार एक कार्यक्रममा प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रसँग पाँच बुँदे सहमति गरेको बताएका थिए । प्रचण्डले सो विज्ञप्तिमा ओलीको सो प्रचार झूठो हो भन्दै त्यसबाट भ्रमित नहुनसमेत सबैसँग अनुरोध गरका छन् ।
अध्यक्ष प्रचण्डले आफूले भूमण्डलीकृत साम्राज्यवाद र वित्तीय एकाधिकार पुँजीवादबारे गरेको विश्लेषणमाथि गरिएको टिप्पणीलाई दलाल पूँजीपति वर्गको एजेण्टको टिप्पणी भन्दै आजको पूँजीवादको चरित्रबारे आफूले गरेको विश्लेषण ठीक रहेको पनि उक्त विज्ञप्तिमा उल्लेख गरेका छन् ।

