काठमाडौं : नेपाल बार एशोसिएसनको परिसरमा दुई अधिवक्ताहरुबीच हात हालाहाल भएको छ। बार एशोसिएसनको बैठक बसिरहेका बेला शुक्रबार दिउँसो कानुन व्यवसायी विराट न्यौपाने र भूमिनन्द चुँडालबीच हात हालाहाल भएको हो।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै न्यायाधीशहरूले इजलास बहिष्कार गरिररहेका बेला त्यही विषयमा भनाभन भई वकिलद्वय न्यौपाने र चुँडालबीच हात हालाहाल भएको बताइएको छ।
प्रहारमा न्यौपाने र चुँडालले हातको मात्र प्रयोग गरेनन् , खुट्टा पनि गरेका थिए। सुरुमा अधिवक्ता न्यौपानेले चुँडालको गालामा चड्कन हानेपछि जवाफमा चुँडालले लात्तीको प्रयोग गरेका थिए। त्यसपछि त्यहाँ उपस्थित कानुन व्यवसायीले छुट्याएका थिए। छुट्याउने सिलसिला चल्दैगर्दा पनि न्यौपाने चुँडालमाथि लात्ती चलाउँदै झम्टिएका थिए।
हानाहानपश्चात् चुँडालले पत्रकारहरुसँग कुरा गर्दै आफूले कानुनी बाटोबाट न्याय खोज्ने बताएका छन्। न्यौपानेले चाँहि हानाहानलाई विवादको संज्ञा दिँदै ‘सामान्य विवाद भएको’ भनेका छन्।उनले आफूहरुबीच कुरा मिलिसकेको पनि बताए।

