काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत प्रस्थान गर्ने भएका छन्। नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६ औँ सम्मेलनको वर्ल्ड लिडर समिटका लागि उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले अक्टोबर ३० मा नेपालका लागि सर्वदलीय संसदीय समूह (एपीपीजी–एन) र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले लण्डनमा आयोजना गर्न लागेको स्वागत कार्यक्रममा सम्बोधन गर्नेछन्।
प्रधानमन्त्री देउवाको सम्मानमा लण्डनस्थित नेपाली दूतावासले अक्टोबर ३१ गते आयोजना गर्ने स्वागत समारोहमा उनी सहभागी हुनेछन्। उनले भूतपूर्व गोर्खा सङ्गठनका प्रतिनिधि, बेलायती संसद्का सदस्य र अन्य नेपाली प्रवासी सदस्यसँग भेटघाट गर्नेछन्।
प्रधानमन्त्री देउवाले नोभेम्बर १ मा कोप–२६ को औपचारिक उद्घाटन समारोहमा सहभागी भई वर्ल्ड लिडर समिटमा नेपालको तर्फबाट सम्बोधन गर्नेछन्। नोभेम्बर १ कै दिन साँझ उनी बेलायती प्रधानमन्त्री बोरिस जोनसनले सहभागी राष्ट्र र सरकार प्रमुखको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने र त्यस अवसरमा राष्ट्र र सरकार प्रमुख तथा अन्य विशिष्ट व्यक्तिसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्।
उनी नोभेम्बर २ को बिहान प्रधानमन्त्री जोनसन र स्कटल्याण्डका प्रथम मन्त्रीले सीमित राष्ट्राध्यक्ष तथा सरकार प्रमुखका लागि आयोजना गर्ने ब्रेकफास्ट रिसेप्सनमा पनि सहभागी हुने मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री देउवाले नोभेम्बर ३ तारेखमा स्कटल्याडको इडिनबर्गस्थित रोयल बोटानिक गार्डेनको भ्रमण गरी त्यहाँ भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
उनी बेलायतबाट नोभेम्बर ३ मा फर्कने र नोभेम्बर ४ तारेख बिहान स्वदेश आइपुग्ने परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख छ ।

