काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले अदालतबारे धेरै टिप्पणी गर्न नमिल्ने बताएका छन्। नेपाल तरुण दलले बुधबार बालुवाटारमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले अदालतमा देखिएको समस्या समाधान गर्ने काम अदालतकै भएको बताए।

उनले भने‚ ‘अदालतका बारेमा हामीले धेरै बोल्ने कुरा छैन। अदालतले जे गर्छ, त्यो अदालतको कुरा हो।’
प्रधानमन्त्री देउवाले न्यायालयको सम्बन्धमा उठेका सवालबारे सत्तारुढ गठबन्धनमा छलफल गरेर अघि बढ्ने पनि स्पष्ट पारे। ‘हाम्रो गठबन्धन पाँच पार्टीको छ, न्यायालय सम्बन्धमा जे सवालहरु उठेका छन्। सरसल्लाह, छलफल गर्नेछौं‚ यसमा धेरै कुरा छैन।’
परमादेशको सवाललाई उठाएर सर्वोच्च अदालतका सबै न्यायाधीशहरूले राजीनामा दिनुपर्ने जस्ता गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोश समेत व्यक्त गरे।
‘परमादेश ल्याउने सबैलाई हटाउनु पर्दछ भन्ने गैरजिम्मेवार कुरा गर्नु उचित हुँदैन जस्तो लाग्दछ मलाई‚’ उनले भने‚ ‘अरु कुरा धेरै केही भन्नु छैन।’
प्रधानमन्त्री देउवाले परमादेशबाट संसदीय व्यवस्था, संविधान र सिंगो देशलाई बचाउने काम अदालतका न्यायाधीशहरुले गरेको दावी गर्दै त्यसको विरोध नगर्न पनि एमाले अध्यक्ष ओलीलाई सचेत गराए।

