आबुधाबी : आईसीसी टीट्वेन्टी विश्वकप क्रिकेटमा अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ। शनिबार भएको सुपर १२ को पहिलो खेलमा अस्ट्रेलियाले बलियो प्रतिद्वन्द्वी दक्षिण अफ्रिकालाई पाँच विकेटले पराजित गरेको हो।

दक्षिण अफ्रिकाले दिएको एक सय १९ रनको मध्यम लक्ष्य अस्ट्रेलियाले १९.४ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको थियो। अस्ट्रेलियालाई जित दिलाउन स्टिभ स्मिथले सर्वाधिक ३५ रन बनाए। यसैगरी मार्कुस स्टोइनिसले २०, ग्लेन म्याक्सवेलले १८, विकेटकिपर ब्याट्सम्यान म्याथु वेडले १५, प्रारम्भिक ब्याट्सम्यान डेभिड वार्नरले १४ र मिचेल मार्सले ११ रन बनाए। कप्तान एरोन फिन्चले भने खाता खोल्न सकेनन्।
दक्षिण अफ्रिकाका एनरिच नार्टजेले दुई विकेट लिए। यस्तै कागिसो रबाडा, केशव महाराज र ताबरेज साम्सीले एक-एक विकेट हात पारे।
यसअघि दुबईको शेख जायद स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक १८ रनको मध्यम योगफल बनाएको थियो। लगातार विकेट गुमाउँदा दक्षिण अफ्रिका दबाबमा परेको थियो। दक्षिण अफ्रिकाका लागि आइडिन मार्कमले सर्वाधिक ४० रन बनाए। यसैगरी कागिसो रबाडाले १९, डेभिड मिलरले १६ र हेन्रिच क्लासेनले १३ रन बनाए।
दक्षिण अफ्रिकालाई सस्तैमा समेट्न अस्ट्रेलियाका जोस हेजलउड, मिचेल स्टाक र एडम जाम्पाले दुई÷दुई विकेट लिए। यस्तै ग्लेन म्याक्सवेल र प्याट कमिन्सले एक-एक विकेट हात पारे।टीट्वेन्टी विश्वकपअन्तर्गत आइतबार दुई खेल हुनेछ। पहिलो खेलमा श्रीलंका र बंगलादेश भिड्ने छन्। यी दुवै टोलीले छनोट चरण पार गर्दै अन्तिम १२ मा स्थान बनाएका हुन्।
यसैगरी दोस्रो खेलमा चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। दुबई क्रिकेट स्टेडियममा हुने यो प्रतिस्पर्धालाई ‘हेभिवेट’ भिडन्तका रुपमा हेरिएको छ। स्रोत: नागरिक ।

