दुबई : इङल्यान्डले आईसीसी टीट्वेन्टी विश्वकप क्रिकेटमा विजयी सुरुआत गरेको छ। दुबईमा शनिबार राति भएको खेलमा साविक विजेता वेस्ट इन्डिजलाई ६ विकेटले पराजित गर्दै इङ्ल्यान्डले सुखद् सुरुआत गरेको हो।

वेस्ट इन्डिजले दिएको ५६ रनको सामान्य लक्ष्य इङ्ल्यान्डले ८.२ ओभरमा चार विकेट गुमाएर पूरा गरेको थियो। इङ्ल्यान्डको जितमा जस बटलरले अविजित २४ रन बनाए। यस्तै जासन रोयले ११ रनको योगदान दिए। वेस्ट इन्डिजका अकिल हुसेनले दुई तथा रवि रामपालले एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज १४.२ ओभरमा ५५ रनमा अलआउट भएको थियो। वेस्ट इन्डिजका लागि क्रिस गेलले सर्वाधिक १३ रन जोडे। उनी बाहेक अरु ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। वेस्ट इन्डिजलाई सस्तैमा समेट्न इङल्यान्डका आदिल रसिदले चार विकेट लिए। यस्तै मोइन अली र टाइमल मिल्सले दुई÷दुई विकेट लिए। यस जितसँगै इङ्ल्यान्डले दुई अंक जोडेको छ।

यसैगरी शनिबार साँझ नै भएको सुपर १२ को पहिलो खेलमा अस्ट्रेलियाले बलियो प्रतिद्वन्द्वी दक्षिण अफ्रिकालाई पाँच विकेटले पराजित गरेको छ। दक्षिण अफ्रिकाले दिएको एक सय १९ रनको मध्यम लक्ष्य अस्ट्रेलियाले १९.४ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको थियो। अस्ट्रेलियालाई जित दिलाउन स्टिभ स्मिथले सर्वाधिक ३५ रन बनाए। यसैगरी मार्कुस स्टोइनिसले २०, ग्लेन म्याक्सवेलले १८, विकेटकिपर ब्याट्सम्यान म्याथु वेडले १५, प्रारम्भिक ब्याट्सम्यान डेभिड वार्नरले १४ र मिचेल मार्सले ११ रन बनाए। कप्तान एरोन फिन्चले भने खाता खोल्न सकेनन्।

दक्षिण अफ्रिकाका एनरिच नार्टजेले दुई विकेट लिए। यस्तै कागिसो रबाडा, केशव महाराज र ताबरेज साम्सीले एक÷एक विकेट हात पारे।  यसअघि दुबईको शेख जायद स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक १८ रनको मध्यम योगफल बनाएको थियो। लगातार विकेट गुमाउँदा दक्षिण अफ्रिका दबाबमा परेको थियो। स्रोत: नागरिक ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *