नेपाललाई ३-० ले हराउँदै भारत आठौं पटक साफ च्याम्पियनसिपको उपाधि जित्न सफल भएको छ । पहिलो पटक फाइनलमा पुगेको नेपालले इतिहास रच्ने सुनौलो मौका गुमायो । सुरूवातदेखि नै भारतले खेलमा पकड बनायो । केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन । पहिलो हाफ गोलरहित बराबरीमा सकियो । तर, दोस्रो हाफमा भारतले दुई मिनेटभित्र दुई गोल गऱ्यो । खेलको ४८ औं मिनेटमा कप्तान सुनील क्षेत्रीले प्रीतम कोटलको क्रसमा हेडर गोल गरे । दुई मिनेट बित्न नपाउँदै यासिर मोहमदको कटब्याकमा सुरेश सिंह वाङ्जामले क्लोज रेन्जबाट गोल गरे । भारत यतिमा मात्र रोकिएन । ९० औं मिनेटमा साहल अब्दुल समादले अर्को गोल थपे र भारत नेपामाथि ३-० को जितसहित दक्षिण एसियामा आफ्नो दबदबा कायम राख्न सफल रह्यो ।


