काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले देशभित्र र बाहिर रहेका नेपालीहरुप्रति सुख र शान्तिको कामना गरेका छन्। विजयादशमीका अवसरमा एक भिडियो सन्देश जारी गर्दै पूर्वराजा शाहले शुभकामना व्यक्त गरेका हुन्।

सन्देशमा शाहले देशको अस्वस्थ राजनीतिले उब्जाएका अवस्थाप्रति चिन्ता पनि व्यक्त गरेका छन्। उनले प्रजातन्त्रविनाको राजसंस्था र राजसंस्थाविनाको प्रजातन्त्र सान्दर्भिक नहुने बोध गरेकोसमेत बताएका छन् ।

शाहले भनेका छन्, ‘देशको तत्कालीन परिस्थितिले हामीलाई बेग्लै जिम्मेवारी ग्रहण गर्न बाध्य तुल्याए पनि प्रजातन्त्रविनाको राजसंस्था र राजसंस्थाविनाको प्रजातन्त्र हाम्रो जस्तो मुलुकमा सान्दर्भिक हुन सक्दैन भन्ने आबोध हामीले गरेका छौं ।’

शाहले भनेका छन्, ‘हाम्रो समाज सनातनिक आदर्श र पुर्ख्यौली पौरखबाट पृथक छैन तर, हाम्रो राजनीति र राजकाजी चालचलन त्यस अनुरुप हुन सकेन । लोक कल्याणका हेतु राजनीतिक स्वच्छता, जनप्रियता र जनआकांक्षा पूर्तिको दिव्य मान्यतामा आधारित हुनुपर्ने हो । तर, राजनीतिक व्यवस्था आफू, आफ्नो समूह र त्यसभित्रको गुट उपगुटमा अल्झिएको छ ।’

पूर्व राजा शाहले अतितका गौरवपूर्ण विधि व्यवस्थालाई सम्झेर विद्यमान नमिल्दा स्थितिलाई सुधार्ने सकारात्मक र देश सुहाउँदो राजनीति, राज्य व्यवस्थाका सबै क्रियाशील शक्तिहरूबाट सही सोच राख्नु देश र जनताको हितमा उपयुक्त अनुभूति हो भन्ने धारणा राखे।

शाहले कुनै पनि परिवर्तनको मर्म देशसँग अन्तर सम्बन्धित हुने भन्दै त्यसको प्रभाव जनताले आफ्नो दैनिक जीवनमा अनुभूत गर्न सक्नु पर्ने बताए।

उनले सार्वभौमिकता, राष्ट्रियता र राष्ट्रिय एकता दुर्लभ गराउने, मौलिक धर्म संस्कृति संकटमा पार्ने, राष्ट्र हितमा केन्द्रित रहनु पर्ने परराष्ट्र नीति असन्तुलित भएको भन्दै शाहले राष्ट्रिय सुरक्षा स्वार्थमा चुनौती थपिएको धारणा पनि व्यक्त गरे।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *