काठमाडौं : नेपाली सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी मङ्गलबार (आज) अपराह्न सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने फूलपाती बढाइँ समारोहमा सरिक हुँदै छिन्। नेपाली सेनाले फूलपातीका अवसरमा परम्परागत रूपमा गर्दै आएको फूलपाती बढाइँ समारोहमा राष्ट्रपति भण्डारी सरिक हुन लागेकी हुन्।

सेनाले उक्त अवसरमा राइफल र तोपबाट लहरे एवम् एकठ्ठा बढाइँ प्रस्तुत गर्नुका साथै सैनिक हेलिकप्टरबाट पुष्पवृष्टि गर्ने र सैनिक ब्याण्डबाट राष्ट्रिय धुन प्रस्तुत गर्नेछ।
त्यसअवसरमा इज्जत अर्पण कवाज, विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपाससहितको बढाइँ हुनेछ।
कोरोना सङ्क्रमणको जोखिमका कारण गत वर्षको झैँ यस वर्ष पनि परम्परालाई निरन्तरता दिनका निम्ति फूलपाती बढाइँ सानो र छरितो कार्यक्रमका रूपमै आयोजना गरिन लागेको जनाइएको छ।
कार्यक्रम स्वास्थ्य मापदण्डको पूर्ण पालनाका साथ हुने बताइएको छ।

