एम्प्लिफाई चेन्जको सहकार्य र मितिनी नेपालको आयोजनामा राष्ट्रिय सभा र प्रतिनिधि सभाका माननीय सांसदहरुसंग यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकार र सवालहरुमा छलफल तथा अन्तर्रक्रिया कार्यक्रम बाग्मती प्रदेश, काठमाडौंको नंयाबानेश्वर अल्फा हाउसमा बिहीबार सम्पन्न भएको छ । मितिनी नेपालकी सामाजिक परिचालक सन्नी शाहीको स्वागत मन्तव्यबाट सुरु भएको अन्तरक्रिया कार्यक्रमको उद्धेश्य माथि मितिनी नेपालकी कार्यक्रम अधिकृत नीलम ढुंगानाले प्रकाश पार्नु भएको थियो ।

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरुको यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारमा उनीहरुको पहँुच सम्बन्धमा छलफल कार्यक्रम केन्द्रित थियो । फरक यौनिकता र लैगिकता कै कारण समुदायले हिंसा, लान्छना, शोषण र विभेदको सामना गर्नु परिरहेको र संविधानकोे धारा १२, १८ र ४२ ले समुदायको अधिकार सुनिश्चित गरेता पनि ती अधिकारहरुको पहँुचबाट समुदाय वञ्चित हुनु परेको साथै विभेदकारी कानुन तथा नीतिहरुको संशोधन र परिमार्जन हुनु आवश्यक रहेको मितिनी नेपालकी कार्यकारी निर्देशक सरीता के.सी. ले बताउनु भयो ।

कार्यक्रममा राष्ट्रिय सभा र प्रतिनिधि सभाका विभिन्न समितिका माननीय सांसदहरुले एल जि बि टि आई समुदायको मुद्धा राष्ट्रिय मुद्धा भएकोे र समाज परिवर्तनसंगै सोच पनि परिवर्तन हुनु आवश्यक भएको र समुदायको अधिकार प्राप्तिका लागि आफुहरुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा ट्रान्समेन संयोग के.सी. ले लामो समयदेखि आफ्नो पार्टनरसंगै बस्दै आएको र परिवारले समेत आफुहरुको सम्बन्ध स्वीकार गरिसकेको अवस्थामा पनि राज्यले वैवाहिक समानताको लागि पहल नगरेकोले भन्दै गुनासो गरे । यसै गरी अर्का ट्रान्समेन लक्की बुढाले अस्पतालमा उपचारको लागि जाँदा डाक्टरले आफ्नो लैंगिक पहिचान माथि अनावश्यक प्रश्न गरी विभेदको सामना गर्नु परेको बताए ।

कार्यक्रममा यौनिक तथा लैंगिक अल्पसंख्यकहरुका लागि सरकारी तथा नीजि अस्पतालहरुमा एलजिविटिआई मैत्री वातावरण र सेवासुविधा हुनुपर्ने उनीहरुले बताएका थिए । यसैगरी विद्यालयको कक्षा ६, ७ र ८ को पाठ्यपुस्तकमा यो समुदायलाई संबोधन गर्ने केही शब्दावलीहरु समावेश गरिएता पनि ती शब्दहरुको उचित व्याख्या र परिमार्जन हुनु आवश्यक भएको बताइएको थियो ।

कार्यक्रममा दिगो विकास तथा सुशासन समिति, प्रतिनिधि सभाका सांसद् दिनानाथ शर्माले वास्तविक समस्याको पहिचान गरेर मात्र समाधानको खोजी गर्न सकिने र दिगो विकास लक्ष्यहरु जसले यो समुदायलाई सम्बोधन गरेको छ, उक्त मुद्धामा काम गर्नआफुहरु तयार रहेको प्रतिबद्धता जनाउनु भएको थियो ।
यसका साथै शिक्षा तथा स्वास्थ्य समिति, प्रतिनिधि सभाका सांसद् रेखा कुमारी झाले समुदायका मुद्धामा आफुहरु गम्भिर भएको र संविधानमा सुरक्षित अधिकारहरुको कार्यान्वयनका लागि सदनमा सम्बन्धित समितिबाट विधेयकको रुपमा आउनु पर्ने धारणा व्यक्त गर्नु भयो । कार्यक्रमको समापन तथा धन्यवाद ज्ञापन मितिनी नेपालका संस्थापक अध्यक्ष लक्ष्मी घलानले गर्नु भयो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *