काठमाडौं : नेपालमा मनसुन अझै केही दिन सक्रिय रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार नेपालबाट मनसुनको बहिर्गमन हुने औसत मिति अक्टोबर २ हो तर यस वर्ष अझै सक्रिय रहेकाले अरू केही दिन देशका विभिन्न भूभागमा आंशिकदेखि सामान्य बदली भई वर्षा हुनेछ।
आइतबार बिहान प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा सामान्य बदली भई अधिकांश भू-भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।बाँकी प्रदेशका एक-दुई स्थानमा आंशिक बदली भएको र त्यहँ पनि हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
दिउँसो देशभर मौसम बदली रही देश १, प्रदेश २ र बागमती प्रदेशका अधिकांश भू-भागमा र बाँकी प्रदेशका थोरै भू भागमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रदेश १ र प्रदेश २ का केही स्थानमा भने भीषण वर्षाको सम्भावना छ।
राति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र प्रदेश २ का अधिकांश भू-भागमा वर्षा हुनेछ भने यी प्रदेशका केही भूभागमा भीषण वर्षाको पनि सम्भावना रहेको छ। अन्य प्रदेशका केही भूभागमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

