इलाम : नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीले तानाशाह मुसोलोनीको शासन र उनका अग्ला सालिक ढलेको प्रसङ्गसँग जोड्दै केपी ओलीको तामझाम दुईचार दिनमात्रै रहने बताइन्।

इलामको माईजोगमाईमा नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै झाँक्रीले उक्त कुरा व्यक्त गरेकी हुन्।
एमालेको विधान महाधिवेशन पूर्व पञ्चहरूको भेला जस्तै भएको बताउँदै नेत्री झाँक्रीले दक्षिणपन्थी भासमा पसेर संविधान मास्ने व्यक्तिका रूपमा ओलीको चित्रण गरिन्।
उनले केपी ओलीको निर्देशनमा भइरहेका अहिलेका क्रियाकलापलाई पूर्व पञ्चका र्याली ,भेलासँग मात्र होइन,पूर्व राजा ज्ञानेन्द्रका अभिनन्दनसँग समेत जोडेर तुलना गरिन्।
‘२०४५ सालतिर पञ्चले पनि अहिलेका ओलीको जस्तै र्याली गरे पनि पञ्चायती शासन टिकेन’, उनले भनिन्, ‘२०६२/६३ मा पनि राजा ज्ञानेन्द्रले प्रायोजित रूपमा गरिएका अभिनन्दनले उनले शासन-सत्ता मात्रै गुमाएनन्, राजतन्त्र नै ढल्यो। अब ओलीको तामझाम पनि केही दिन मात्रै देखिन्छ ।’
झाँक्रीले एमाले नेता तथा कार्यकर्ताहरूको समूहलाई भने केपी ओलीको गान गाउने भजनमण्डलीको संज्ञा दिइन्।
‘ओलीसँग अहिले उनका भजनमण्डली र चाकर मात्रै हिँड्दै छन्। खड्गप्रसाद ओलीका नजरमा कम्युनिष्ट पार्टीभित्र कमरेड हैन दुश्मन र चाकर छन् । उनका दुश्मनहरू हामी पार्टीबाट विद्रोह गरी नयाँ शैलीले आन्दोलन पुनर्गठन गर्ने संकल्पमा लागेका छौँ’, नेत्री झाँक्रीले भनिन्, ‘उनीहरू विचारविहीन छन्।विचारविहीनहरूको जमात एमाले निर्वाचनपछि पतन भएर जानेछ।’
सम्बोधनका क्रममा झाँक्रीले दुई तिहाइको सरकारलाई गिराउने, संसद् विघटन गराउने, जनताबाट निर्माण गरिएको संविधान मात्रै नभएर जनक्रान्तिबाट संस्थागत भएका उपलब्धिसमेत सत्यानास केपीओलीले गरेको भन्दै आक्रोश पोखेकी थिइन्।
कार्यक्रमा नेकपा एकीकृत समाजवादीकी नेत्री तथा प्रदेश सासंद खिनु लङ्वा लिम्बु, माईजोगमाई गाउँपालिका अध्यक्ष जितबहादुर राई, समाजवादीका इलाम अध्यक्ष भक्त केसीलगायतले कार्यक्रममा सम्बोधन गरेका थिए।

