एजेन्सी :
अमेरिकी एक औषधि उत्पादक कम्पनीले तयार पारिरहेको कोभिडविरुद्धको एउटा खाने औषधिले गम्भीर लक्षण भएका बिरामीलाई अस्पताल भर्ना हुनुपर्ने अवस्था र मृत्यु आधाले घटाउने नतिजा प्राप्त भएको दाबी गरेको छ।

मोल्नुपिरभिर नामक सो खाने चक्कीको अन्तरिम क्लिनिकल परीक्षण परिणाम अन्त्यन्न सकारात्मक रहेको उत्पादक कम्पनी मर्कले जनाएको छ।  मोल्नुपिरभिर चक्की कोभिडका बिरामीलाई दिनको दुईपटक दिइएको थियो। परिणाम उत्साहजनक भएकाले बाह्य अनुगमनकर्ताहरूले परीक्षणकाल छोट्याउन अनुरोध गरेको सो कम्पनीले जनाएको छ।

मर्कले अमेरिकामा अबको दुई हप्तामा आपतकालीन प्रयोगका लागि अनुमति लिन निवेदन दिने बताएको छ। अमेरिकी राष्ट्रपति जो बाइडनका प्रमुख मेडिकल सल्लाहकार डाक्टर एन्थोनी फाउचीले परिणाम असाध्यै राम्रो समाचार भएको टिप्पणी गरे। उनले अमेरिकी खाद्य तथा औषधि नियामक निकाय एफडीएले त्यो तथ्याङ्क समीक्षा नगरेसम्म भने सावधानी अपनाउन आग्रह गरे।

यदि नियामकहरूले अनुमति दिए भने मोल्नुपिरभिर कोभिड–१९ का लागि पहिलो एन्टिभाइरल खाने औषधि बन्नेछ। सुरुमा इन्फ्लुएन्जा उपचारका लागि विकास गरिएको यो औषधिले भाइरसको जेनेटिक कोडमा परिवर्तन ल्याइदिने गरी डिजाइन गरिएको छ, जसले भाइरस शरीरमा फैलनबाट रोक्छ।

कोभिड खोपमा भाइरसको बाहिर रहेको चुच्चो प्रोटिनलाई निशाना बनाइन्छ भने खाने चक्कीमा भाइरसले संख्या बढाउने इन्जाइमलाई नै निशाना बनाउने कम्पनीको दाबी छ।

एन्टिभाइरस उपचार वा खोप प्रभावकारी नभएका व्यक्तिमा खाने औषधिले काम गरेको खण्डमा महामारी अन्त्य गर्न यो ठूलो हतियार साबित हुने मर्कका उपाध्यक्ष डारिया हजुडाले बताए।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *