काठमाडौँ : काठमाडौं उपत्यकामा सभा, सम्मेलन र धार्मिक/सांस्कृतिक मेला, जात्रा, पर्व लगायत चाड पर्व लक्षित अन्य क्रियाकलापहरु स्वास्थ्य मापदण्डको पूर्णपालना गरी गर्न-गराउनमा कुनै बन्देज नलगाएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले बताएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलद्वारा शुक्रबार जारी गरिएको विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘जिल्ला प्रशासन कार्यालयले मिति २०७८/०६/१४ गतेदेखि लागु हुने गरी जारी गरेको आदेशको बुँदा नम्बर १(क)मा उल्लेखित विषयमा सार्वजनिक रुपमा चासो, चिन्ता र अभिव्यक्तिका सम्बन्धमा ध्यानाकर्षण भएको छ ।’
जारी विज्ञप्तिमा,वर्तमान समयमा समेत कोभिडको जोखिम यथावत नै रहेकाले कोभिड-१९ को रोकथाम तथा नियन्त्रण सम्बन्धमा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय एवं प्रचलित कानुनले दिएको अधिकार प्रयोग गरी यसअघि जारी गरिएको आदेशको निरन्तरताको रुपमा उक्त आदेश जारी गरिएको र उक्त आदेशले कुनै पनि प्रकारका सभा, सम्मेलन र धार्मिक/सांस्कृतिक मेला, जात्रा पर्व लगायत चाडपर्व लक्षित अन्य क्रियालापहरु स्वास्थ्य मापदण्डको पूर्ण परिपालना गरी गर्न/गराउन कुनै बन्देज नलगाएको भनिएको छ ।

