काठमाडौं : सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा बोलाइएको सर्वदलीय बैठकले संसद् बैठक निर्वाध र मर्यादित रूपमा अगाडि बढाउनका निम्ति भूमिका खेल्न प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)लाई आग्रह गरेको छ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकले उक्त आग्रह गरेको हो।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सभामुखको केही कार्यप्रति असन्तुष्टि जनाउँदै सुरुदेखि नै संसद् बैठक अवरुद्ध गर्दै आएको छ। सो गतिरोध अन्त्यका लागि छलफल गर्न प्रधानमन्त्रीले देउवाले आजको बैठक आह्वान गरेका हुन्।

बैठकमा नेपाली कांग्रेसका तर्फबाट प्रधानमन्त्री देउवा र कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र)बाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठ,
नेकपा (एकीकृत समाजवादी)बाट महासचिव बेदुराम भुसाल र उपाध्यक्ष राजेन्द्र पाण्डेको उपस्थिति रहेको थियो।

यसै गरी जनता समाजवादी पार्टी (जसपा)बाट नेता राजेन्द्र श्रेष्ठ र नेता महेन्द्र राय यादव, लोकतान्त्रिक समाजवादी पार्टीबाट अध्यक्ष महन्थ ठाकुर तथा वरिष्ठ नेता राजेन्द्र महतो, नेमकिपाबाट नेता प्रेम सुवाल र जनमोर्चाबाट दुर्गा पौडेललगायतका नेताहरूको उपस्थिति रहेको थियो।

बैठकमा प्रमुख प्रतिपक्षी एमालेबाहेक सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरू सहभागी थिए ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *