काठमाडौँ : बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने भएकी छन्।

५६ सांसदसहित एकल बहुमत रहेको नेकपा (एमाले) का १३ प्रदेश सभा सदस्यले नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेपछि आफ्नो नेतृत्व अल्पमतमा परेकाले बाध्यात्मक अवस्थामा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन लागेकी हुन्।
मुख्यमन्त्री शाक्यले प्रदेशसभामा अल्पमतमा परेको ३० दिनको अन्त्य (असोज२४/२५ गते) तिरै विश्वासको मत लिने जनाएकी छन्। उनले भदौ २ गतेदेखि मुख्यमन्त्रीको पदभार सम्हालेकी हुन् ।
बागमती प्रदेश सभामा एमालेका ४३,माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, एकीकृत समाजवादीका १३, विवेकशील साझा पार्टीका ३, नेपाल मजदूर किसान पार्टीका २, राष्ट्रिय प्रजातन्त्र पार्टीका २ र १ जना स्वतन्त्र सांसद रहेका छन्।
मुख्यमन्त्री शाक्यले आफ्नो नेतृत्वलाई सकुशल राख्न ५५ जना सांसद्को विश्वासको मत प्राप्त गर्नुपर्छ ।

