काठमाडाैं : युट्युब च्यानलबाट तस्वीरसहितको सामग्री प्रसारण गरेर महिलाको चरित्र हत्या गर्ने चारजना युट्युब सञ्चालक पक्राउ परेका छन्।महिलाको चरित्र हत्या हुने, इज्जत प्रतिष्ठामा आँच पुऱ्याउने तथा घृणा फैलाउने सामाग्रीहरु युट्युबमार्फत प्रसारण गरेको आरोपमा प्रहरीले उनीहरूलाई बुधबार पक्राउ गरेको हो।

विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुर गरेकाले उनीहरुलाई पक्राउ गरिएको प्रहरीको साइबर ब्युुरोले जनाएको छ ।
साइबर ब्युुरोका अनुसार पक्राउ पर्नेमा दैनिकखबर युट्युब च्यानलका सञ्चालक दाङ तुलसीपुर उपमहानगरपालिका १७ घर भई काठमाडौँको गोकर्णेश्वर बस्ने २१ वर्षीय प्रदीप भण्डारी , हरेकपलको खबर युट्युबका सञ्चालक नुवाकोट सूर्यगढी गाउँपालिका घर भई काठमाडौँको नेपालटार बस्ने २७ वर्षीय शिशिर अधिकारी, सराइचुली युट्युब च्यानलका सञ्चालक मोरङ बेलबारी नगरपालिका–९ घर भई काठमाडौँको पेप्सिकोला बस्ने ३५ वर्षीया पिङ्कला कार्की र मोर्डन अनलाइन टिभीका सञ्चालक दोलखा मेलुङ घर भई काठमाडौँको गोकर्णेश्वर बस्ने २४ वर्षीय रोधन तामाङ रहेका छन्।
उनीहरुमाथि बुधबारै काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ ।
साइबर ब्युरोमा परेको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

